विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले लगाएको प्रतिबन्धका कारण आयातमा कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासमा आयात र निर्यात दुवैमा गिरावट आएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पहिलो चौमासिक विवरणानुसार साउनदेखि कात्तिकसम्म पाँच खर्ब रुपैयाँको सामान आयात भएको छ । गत वर्षको सोही समयमा साढे ६ अर्ब रुपैयाँको सामान आयात भएको थियो ।

गएको साउनदेखि कात्तिकसम्म नेपालमा पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार रुपैयाँको सामान आयात भएको छ । गत आर्थिक वर्षको सोही समयमा ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख १३ हजारको आयात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष आयातमा १८ प्रतिशतले कमी आएको विभागले जनाएको छ ।

सरकारले डलर अभावको कारण देखाउँदै गत वर्षको फागुनदेखि विलासी र महँगा वस्तुको आयातमा रोक लगाएको छ । ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, १५० सीसीमाथिका मोटरसाइकल, जीप कार, भ्यान, सबै प्रकारका तयारी मदिरा आयातमा रोक लगाएको हो । प्रतिबन्ध अहिले पनि जारी छ ।

यस्तै, योपटकको पहिलो चौमासमा निर्यातमा पनि गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकानुसार पहिलो चौमासमा ५४ करोड रुपैयाँको सामान निर्यात भएको छ । गत वर्षको सोही समयमा ८२ अर्ब रुपैयाँको सामान नियात भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो चौमासमा ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजारको सामान निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही समयमा ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजारको सामान निर्यात भएको थियो ।

आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार घाटामा पनि कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासमा १९.७९ प्रतिशतले वैदेशिक व्यापार घाटा घटेको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासमा पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख ९७ हजारको कुल वैदेशिक व्यापार घाटा भएको छ । गत वर्षको सोही समयमा सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख आठ हजारको वैदेशिक व्यापार घाटा भएको थियो ।