मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट ११ जना उमेदवारको जमानत जफत भएको छ । जमानत जफत हुने उमेदवारमध्ये प्रतिनिधिसभातर्फ पाँचजना र प्रदेशसभातर्फ ६ जना रहेका छन् ।

प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रदेशसभा ‘क’ मा एकजना र प्रदेश सभा ‘ख’ तर्फ पाँचजनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

गत निर्वाचनमा प्रतिनिधिसभामा सात, प्रदेशसभा ‘क’ मा चार र ‘ख’मा सात गरी १८ जना उमेदवार थिए ।

सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उमेदवारको जमानत जफत हुने प्रावधान छ । जमानत जफत हुँदा उमेदवारले उमेदवारी दिँदा राखेको धरौटी जफत हुने निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले बताए ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुल मतदाता एकलाख १६ हजार ९९१ मध्ये प्रतिनिधिसभातर्फ ६९ हजार ४४४ मत खसेको थियो । जसमध्ये ६६ हजार ७२७ मत सदर र दुईहजार ७१७ मत बदर भएको थियो ।

प्रतिनिधिसभामा जमानत जफत जोगाउन कुल खसेको मतमध्ये १० प्रतिशत मत ल्याउनुपर्छ । जुन ६ हजार ६७३ मत हुन्छ । प्रतिनिधिसभातर्फका सातजनामध्ये दुईजनाको मात्रै जमानत जोगिएको छ । बाँकी पाँच जनाको जमानत जफत भएको छ ।

जमानत जफत हुनेमा नेकपा (माओवादी केन्द्र)बाट विद्रोह गरी स्वतन्त्र उमेदवारी दिएका हेमराज भण्डारी (५९२६), राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापा (१०५९), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बु (६२५), मंगोल नेसनल अर्गनाइजेसनका विश्वमित्र लावती (२१७) र एकीकृत शक्ति नेपालका रमेश राई (९५) छन् ।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा (एमाले)का राजेन्द्रकुमार राई ३० हजार १०१ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका उमेदवार पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले २८ हजार ७०४ मत ल्याए ।

प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’मा ६१ हजार ५१५ कुल मतदाता मध्ये ३७ हजार ५५६ मत खसेको थियो । जसमध्ये ३६ हजार ४५ मत सदर भएको थियो । एकहजार ५११ मत बदर भएको थियो ।

जमानत जफत जोगाउन प्रदेशसभा ‘क’मा ३,६०५ मत ल्याउनुपर्छ । तर, प्रदेशसभा ‘ख’ बाट उमेदवारी चारमध्ये तीन जनाले मात्र जमानत जोगाए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उमनकुमार राईले कुल ५५ मत ल्याएर जमानत जोगाउन सकेनन् ।

त्यस्तै, यस निर्वाचन क्षेत्रमा एमालेका निरन राईले १७ हजार १८ मत प्राप्त गरी विजयी बने । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उमेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का अर्जुनकुमार राईले १० हजार २२६ मत ल्याए । त्यस्तै, पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका उमेदवार रकम चेम्जोङले ८ हजार २४७ ल्याएर जमानत जोगाउन सफल भए ।

यस्तै प्रदेशसभा ‘ख’ मा ५५ हजार ४७६ कुल मतदाता रहेकोमा गत निर्वाचनमा ३१ हजार ७८७ मत खसेको थियो । खसेको कुल मतसंख्या मध्ये ३० हजार ७११ मत सदर भएको थियो । एकहजार ७६ मत बदर भएको थियो ।

यस निर्वाचन क्षेत्रमा ३० हजार ७१ मत ल्याउँदा मात्रै जमानत जफत जोगिन्छ । तर, प्रदेशसभा ‘ख’मा उमेदवार बनेका सातजनामध्ये दुईजनाको मात्रै जमानत जफत जोगिएको छ । बाँकी पाँचजनाको जमानत जफत भएको थियो ।

जमानत जफत हुने उमेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामबहादुर गुरुङ (१७१५), जनता समाजवादी पार्टी नेपालका डम्बरबहादुर कटुवाल (७७५), नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उमेदवारी बनेका बालानन्द दाहाल (६८६), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सोमबहादुर घिसिङ तामाङ (२८८), स्वतन्त्र उमेदवार जीतेन्द्र राई (२२१) छन् ।

यस निर्वाचन क्षेत्रबाट एमालेका उमेदवार इन्द्रमणी पराजुली १५ हजार ७९७ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)की कुशुमकुमारी श्रेष्ठले ११ हजार २३० मत ल्याइन् ।