मुन्धुमस्टार डटकम​- राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीका ४ प्रतिनिधिसभाका क्षेत्र र ३ प्रदेश सभाका क्षेत्रमा उम्मेदवारी निष्क्रिय पारेको छ। रुपन्देही- २ मा प्रतिनिधिसभातर्फ सत्तागठबन्धनको समर्थन पाएपछि जनमुक्ति पार्टीले आफ्ना अन्य उम्मेदवारको उम्मेदवारी निष्क्रिय पारेको हो।

शनिबार पत्रकार सम्मेलन गर्दै जनमुक्ति पार्टीले आफ्ना उम्मेदवार निष्क्रिय पारेको जनाएको हो। रुपन्देही- २ मा गठबन्धनबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि उसले जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि जनमुक्ति पार्टीले बाँकी निर्वाचन क्षेत्रका उम्मेदवारी निष्क्रिय पारेको हो।

जनमुक्तिको तर्फबाट प्रतिनिधिसभामा रुपन्देही- १ मा डिबी थापा, रुपन्देही- ३ मा मोजिब अली, रुपन्देही- ४ मा जबाहर अली र रुपन्देही- ५ मा भैरवबहादुर थापा उम्मेदवार छन्। यस्तै, प्रदेश सभामा रुपन्देही- १ क मा विमला गुरुङ, १ ख मा छत्रबहादुर दर्लामी र ३ ख मा मीनबहादुर पल्लीको उम्मेदवारी पनि निष्क्रिय पारिएको जनमुक्ति पार्टीले जनाएको छ।