आज नेप्से उतार–चढावका बाबजुत पनि ५५.५० अंकले वृद्धि
गएको सातादेखि लगातार बढ्ने क्रममा रहेको सेयर बजार यो साताको पहिलो कारोबार दिन पनि उच्च अंकले बढेको छ ।
बजारलाइर्ए लिड गर्ने बैंकिङ उपसूचमा गि’रावटका बाबजुत पनि वास्तविक क्षेत्रका होटेल, उत्पादनमूलक र व्यापारका साथै हाइड्रोपावर, विकास बैंक र वित्त कम्पनी उपसूचकमा उच्च वृद्धि हुँदा नेप्सेमा ५५ अंकभन्दा माथिको वृद्धि भएको छ ।
गएको साता कारोबार भएको पाँच करोबार दिनमा नै वृद्धि हुँदा २२५ अंकले बढेको नेप्से आज पनि ५५ अंकले वृद्धि हुँदा २८०० अंक माथि पुगेको छ ।
आज नेप्सेमा सुरुवाती समयमा उतार–चढावका बाबजुत पनि ५५.५० अंकले वृद्धि हुँदा २८३७.६१ अंकमा बन्द भएको छ ।
नेप्से लगातार छैटौँ कारोबार दिन पनि बढेको हो । ६ दिनेमा नेप्सेमा २८० अंकभन्दा माथिले वृद्धि भएको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज नेप्सेमा दसैँपछिकै सबैभन्दा उच्च करिब आठ अर्बको कारोबार भएको छ ।
नेप्सेमा आज एक करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर खरिद–बिक्री हुँदा सात अर्ब ८२ करोड ३२ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा साढे ५५ अंकको उच्च वृद्धि हुँदा पनि बजारलाई लिड गर्ने बैंकिङ उपसूचक भने ०.१६ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा विकास बैंक उपसूचक सबैभन्दा धेरै ६.५६ प्रतिशतले वृद्धि हुँदा व्यापार उपसूचक ५.९६ प्रतिशत, हाइड्रोपावर उपसूचक ५.५ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ५.२९ प्रतिशत र उत्पादनमूलक उपसूचक ५.०२ प्रतिशतले बढेको छ ।
आज बैंकिङबाहेक सबै उपसूचमा हरियाली छाएको छ ।
आज नेप्सेमा कारोबार भएका मध्ये ६ कम्पनीको सेयर मूल्य १० प्रतिशत र थप तीन कम्पनीको करिब १० प्रतिशतले वृद्धि हुँदा नौ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।
यस्तै, सानिमा माई हाइड्रोपावरको सेयर मूल्य पनि ९.७६ प्रतिशतले बढेको छ ।
यता, सेयर मूल्य घट्नेमा भने एभरेष्ट बैंक अगाडि छ । अपेक्षाभन्दा न्यून लाभांश प्रस्ताव गर्दा बैंकको सेयर मूल्य ६.५० प्रतिशतले घटेको छ ।
यस्तै, वेस्ट फाइनान्सको २.२२ प्रतिशत र जीवन विकास लघुवित्तको सेयर मूल्य १.३३ प्रतिशतले घटेको छ ।
उपसूचमा गिरावट भए पनि आज कारोबार रकममा भने वाणिज्य बैंक अगाडि देखिएका छन् ।
सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनीको ३१ करोड ५७ लाखको कारोबार हुँदा नबिल बैंकको २८ करोड तीन लाख, एभरेष्ट बैंकको २७ करोड ७९ लाख र सिद्धार्थ बैंकको २४ करोडको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको करिब २२ करोड ९४ लाखको कारोबार भएको छ ।
आज नेप्सेमा १८७ कम्पनीको सेयर कारोबारमा आएकामा १६२ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा २३ कम्पनीको भने घटेको छ । दुई कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।



