सेयर बजारमा पहिरो नरोकिएपछि इन्भेस्टर्स फोरमद्वारा सरकारको ध्यानाकर्षण गर्दै विज्ञप्तिजारी
नेपाल इन्भेस्टर्स फोरमले सेयरबजार निरन्तर ओरालो लागेपछि सरकारको ध्यानार्षण गराएको छ।
फोरमले सोमबार विज्ञप्ति जारी गर्दै सेयरबजार सुधारका लागि सरकारसँग पाँच बुँदे माग अघि सारेको हो।
लानीकर्तामैत्री नीति नियम नभएकै कारण सेयरबजारमा निरन्तर गिरावट आएको भन्दै सेयर बजारमा विश्वसनीयता बढाउनका लागि उक्त मागहरु अघि सारेको फोरमले जनाएको छ ।
फोरमले केन्द्रीय बैंकले ल्याएको सेयर धितो कर्जाको सीमा खारेज गर्नुपर्ने, नयाँ ब्रोकर थप्नुपर्ने, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकर कमिसन घटाउनुपर्ने, धितोपत्र बोर्ड र नेप्सेका प्रमुख यथाशीघ्र नियुक्त गर्नुपर्ने लगायतका मागहरु अघि सारेका छन् ।
‘नेपालको पुँजीबजारको इतिहासमा सबैभन्दा बढी पुँजीकृत रकम आठ खर्ब रुपैयाँभन्दा बढी गु’माइसक्दा पनि सरकार र यसका अन्य निकायहरू मौन रहनाले ४४ लाखभन्दा बढी लगानीकर्ताहरू अझ बढी मर्माहत भएका छन्,’ फोरमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘मुलुकले दशकौंको राजनीतिक अन्योललाई पार गर्दै अबका दिनमा मुलुक आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्नेछ भन्ने नयाँ सरकारको उद्घोषले निकै उत्साहित लगानीकर्ताहरूमा अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको सेयरबजार निरन्तर रुपमा घटिरहनु र जिम्मेवार निकायहरू बेखबरजस्तै रहनुले भनाइ र गराइमा फरक रहेको स्पष्ट देखिन्छ ।’
विषम् परिस्थितिमा संयम र धैर्यता, सुझबुझका साथ लगानी गर्न लगानीकर्तालाई फोरमले अनुरोध पनि गरेको छ ।




