गत आर्थिक वर्षको नाफाबाट चार वाणिज्य बैंकसहित १६ कम्पनीहरुले लाभांश घोषणा गरेका छन्।

संचालक समितिले घोषणा गरेको लाभांश कम्पनीको साधारणसभामा प्रस्ताव लगिन्छ।

साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले लाभांश पाउने हुन्।

लाभांश दुई किसिममा बाँडेर दिइन्छ, बोनस सेयर र नगद लाभांश। सेयर लगानीकर्ताले बोनस सेयर आफ्नो डिम्याट खातामा र नगद लाभांश आफ्नो बैंक खातामा पाउँछन्।

साधारणसभा बस्नुअघि कम्पनीले ‘बुक क्लोज’को मिति घोषणा गर्दछन्। ‘बुक क्लोज’भन्दा अघिल्लो दिनसम्म सेयर खरिद गरेका वा होल्ड गरेकाले लाभांश पाउँछन्।

हाल लाभांश घोषणा गरेका वाणिज्य बैंकहरुमा सानिमा बैंक, सिटिजन्स, कुमारी र माछापुच्छ्रे बैंक छन्।

बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाई गरेपछि सेयर बोनसलाई प्राथमिकता दिएका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको हकमा साधारणसभा बस्नुअघि नै राष्ट्र बैंकले लाभांशलाई स्वीकृति दिनुपर्छ।

कसरी गणना गर्ने प्राप्त हुने लाभांश ?

कम्पनीहरूले नाफाबाट चुक्ता पुँजीको दरमा लाभांश दिने गर्छन्। आफूसँग भएको सेयर संख्यालाई कम्पनीले दिने लाभांशले गुणा गरी १ सयले भाग गरेपछि प्राप्त हुने सेयर बोनस निकाल्न सकिन्छ।

मानौँ तपाईसँग ए कम्पनीको १ सय कित्ता सेयर छ, सो कम्पनीले १० प्रतिशत नगद लाभांश र १५ प्रतिशत सेयर बोनस दिने भएमा तपाईले १ हजार नगद पाउनुहुन्छ भने १५ कित्ता सेयर थप पाउनुहुन्छ।

दुवै लाभांशमा ५ प्रतिशत कर तिर्नुपर्छ। नगद लाभांशका हकमा पुँजीगत लाभकर कटौतीपछि बैंक खातामा जम्मा हुन्छ। बोनस सेयरको हकमा प्रायः कम्पनीले नै करको व्यवस्था गरेका हुन्छन्।

यदी नगरेको खण्डमा पाएको बोनस सेयर संख्यालाई अंकित मूल्य १ सयले गुणा गरी त्यसैको ५ प्रतिशत रकम सम्बद्ध बैंक खातामा जम्मा गरिदिनुपर्छ। सो कर तिरेपछि मात्रै डिम्याट खातामा बोनस सेयर थपिने छ।

बैंकहरुको जोड बोनस सेयरमा
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई खुद वितरणयोग्य मुनाफाबाट ३० प्रतिशतसम्म मात्रै नगद लाभांश वितरण गर्न पाउने व्यवस्था गरेको छ।

यहीं कारण यसपालि बैंकहरुले नगद भन्दा सेयर लाभांश बढी दिने छन्।

यस्तो नगद लाभांश २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुने छैन।

त्यस्तै खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने भएका छन्।

बैंक तथा वित्तीय संस्थाहरुले २०७८ असार मसान्तभित्र असुल हुनुपर्ने ब्याज रकम भदौ १५ सम्म प्राप्त भएमा त्यसलाई २०७८ असार मसान्तको आम्दानीमै लेखांकन गरी सोही आम्दानीबाट लाभांश घोषणा गर्न सक्छन्।

हेर्नुस् कुन कम्पनीले कति घोषणा गरे लाभांश? 

बुक क्लाेजपछि कसरी हुन्छ मूल्य समायोजन ?

बुक क्लोजपछि बोनस सेयर दिइएको खण्डमा मूल्य समायोजन गरिन्छ, अर्थात बोनस संख्याका आधारमा अघिल्लो दिन कारोबार बन्द हुँदा कायम भएको मूल्य विशेष सुत्रबाट घटाइन्छ।

यसलाई यसरी बुझौं।

मानौं, तपाईंसँग ए बैंकको १५० कित्ता सेयर छ। सो बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।

सो कम्पनीको अघिल्लो दिनको मूल्य प्रतिकित्ता ३ सय रूपैयाँ छ भने बुक क्लोजपछि मूल्य समायोजन हुँदा २७२ रुपैयाँ (३००/ १+०.१०) कायम हुन्छ।

बोनस सेयरको हकमा प्रायः कम्पनीले नै कर व्यवस्था गरेका हुन्छन्। नगरेको खण्डमा पाएको बोनस सेयर संख्यालाई अंकित मूल्य १ सयले गुणा गरी त्यसैको ५ प्रतिशत रकम सम्बद्ध बैंक खातामा जम्मा गरिदिनुपर्छ।

सो कर तिरेपछि मात्रै डिम्याट खातामा बोनस सेयर थपिने छ।