हाइड्रोपावरमा लगानीकर्ताको उच्च आकर्षण
साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा एक अंकको सामान्य वृद्धि भएको छ ।
नेप्से स्थिर जस्तै देखिए पनि पछिल्लो केही दिन यता हाइड्रोपावरको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।
हाइड्रोपावर र वित्त कम्पनी लगानीकर्ताको उच्च आकर्षण देखिँदा आइतबार अधिकांश उपसूचकमा भने गिराट भएका छन् ।
बैंकिङ, लघुवित्त, होटेल तथा पर्यटन र उत्पादनमूलक उपसूचकमा गिरावटका बाबजुत हाइड्रोपावर र वित्त कम्पनी उपसूचकमा भएको वृद्धिले नेप्सेमा सामान्य वृद्धि भएको छ ।
गएको सातादेखि नै उच्च आकर्षण देखिएको हाइड्रोपावरमा यो साता पनि लगानीकर्ताको आकर्षण देखिएको हो ।
आज बजार परिसूचक नेप्सेमा १.४७ अंकको सामान्य वृद्धि हुँदा ३१०९.६० अंकमा बन्द भएको छ ।
आज बैंकिङ उपसूचकमा ०.५७ अंकको सामान्य गिरावट हुँदा विकास बैंक उपसूचकमा १.०३ प्रतिशत, लगानी उपसूचकमा ०.०६ प्रतिशत, लघुवित्त उपसूचक १ प्रतिशत र होटल तथा पर्यटन उपसूचकमा ०.९८ प्रतिशतको गिरावट भएको छ ।
तर, हाइड्रोपावर उपसूचकले बजारलाई लिड गर्र्दै ३.३५ प्रतिशत र वित्त कम्पनी उपसूचक ३.४९ प्रतिशतले वृद्धि हुँदा निर्र्जीवन बिमा र जीवन बिमा दुबै उपसूचक ०.२७ प्रतिशतले वृद्धि भएको छ ।
आज हाइड्रोपावर र वित्त कम्पनी उपसूचक उच्च अंकले वृद्धि हुँदा कारोबार रकममा पनि जलविद्युत् र वित्त कम्पनी नै अगाडि देखिन्छन् ।
आज नेप्सेमा २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख ३९ हजारको कारोबार भएको छ ।
जसमध्ये अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ६७ करोड ४८ लाख ५६ हजारको कारोबार हुँदा अपर तामाकोशी हाइड्रोपावरको ५८ करोड ९९ लाख ४० हजार, अपी पावरको ५३ करोड ८० लाख ६१ हजार, सिनर्जी पावरको ५० करोड ४५ लाख ३५ हजार र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४५ करोड ९० लाख ५८ हजारको कारोबार भएको छ ।
आज बजारमा धेरै रकमको कारोबार हुने शीर्ष १० कम्पनीमा ८ वटा हाइड्रोपावर मात्रै रहेका छन् भने २ वित्त कम्पनी छन् ।
नेशनल हाइड्रोपावर कम्पनी, आईसीएफसी फइनान्स, अरुण काबेली पावर, मञ्जुश्री फइनान्स र बुटवल पावर धेरै कारोबार हुने शीर्ष १० कम्पनी रहेका छन् ।
आज कारोबारमा आएका मध्ये ८ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।
आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स कम्पनी, युनियन हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त, ङ्यादी ग्रुप पावर र युनियन लाइफ इन्स्योरेन्ससेयर मूल्य सर्किट लेभलमा बन्द भएको छ ।
यता, कर्णाली डेभलमेन्ट सेयर मूल्य ३.८९ प्रतिशत, सारथी नेपाल लघुवित्तको सेयर मूल्य ३.३७ प्रतिशत र नेरुडे लघुवित्तको सेयर मूल्य ३.०७ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका १८५ कम्पनीमध्ये १०० कम्पनीको सेयर मूल्य घट्दा ७९ कम्पनीको वृद्धि र ६ कम्पनीको स्थिर रहेको छ ।



