चालू आर्थिक वर्ष २०७७७८ को एघार महिना (साउनदेखि असार) सम्ममा ६५ लाख ५४ हजार मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

सो परिमाणको मोबाइल सेट आयातका लागि नेपालबाट ३४ अर्ब १४ करोड रूपैयाँ बाहिरिएको छ।

विभागको तथ्यांक हेर्दा गत आर्थिक वर्ष २०७६७७ को सोही अवधिको तुलनामा यो ६० प्रतिशतले बढी हो।

गत आबको साउनदेखि जेठसम्म विभिन्न देशबाट ४० लाख ७२ हजार मोबाइल सट भित्रिएको छ।

कोरोना महामारीपछि मोबाइल आयात बढेको व्यवसायीहरू बताउँछन्।

एक त लकडाउनका कारण यातायातका साधन चलेनन्, अर्को अनलाइन कक्षा र घरमै बसेर कार्यालको काम गर्दा मोबाइलको माग बढेको हो।

लकडाउनमा चो’री निकासीको बाटो बन्द भएकाले पनि मोबाइल आयात बढेको देखिएको मोबाइल आयात संघका अध्यक्ष दीपक मल्होत्राले बताउँछन्।

‘चो’री निकासीले ४० प्रतिशत बजार लिएको थियो, त्यो अहिले हामीले पाएका छौं,’ उनले भने।

नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेका छन्। तीमध्ये चीन, भारत र भियतनामबाट बढी मोबाइल सेट आयात हुने गरेको छ।

विभागको तथ्यांक हेर्दा चीनबाट ५३ लाख ५९ हजार मोबाइल सेट भित्रिएको छ। त्यस्तै, भारतबाट ९ लाख र भियतनामबाट २ लाख ५८ हजार मोबाइल सेट भित्रिएको छ।

पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै गएकाले पनि मोबाइलको आयात बढेको हो।

ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थालेपछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ।

तराईमा भारतको खुला सीमाबाट पनि मोबाइल आउँछन्।

‘झिटी, गुण्टा आदेश २०७५’ ले पनि मोबाइलको बजारलाई व्यवस्थित गरेको छ।

सो व्यवस्थाअनुसार वैदेशिक यात्रामा गएकाले नयाँ मोबाइल १ सेट मात्र ल्याउन पाइने छ। त्यसको तथ्यांकले भने भन्सार विभागको तथ्यांकमा उल्लेख छैन।