२८५६.७७ अंकको ऐतिहासिक उचाइमा नेप्से
साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेले नयाँ रकर्ड बनाएको छ । बिहीबार उतार–चढावबीच बजार परिसूचक नेप्से २९ ।६४ अंकले बढेर २८५६ ।७७ अंकको ऐतिहासिक उचाइमा पुगेको हो ।
यही साताको पहिलो कारोबार दिन आइतबार २८२७ ।९३ अंकमा पुगेर केही तल झरेको नेप्सेले आज सातको अन्तिम कारोबार दिन पुनः नयाँ उचाइमा पुगेको हो ।बजार परिसूचकसँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ । बुधबार ११ अर्बमाथिको कारोबार भएको बजारमा आज करिब १७ अर्ब रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ९० करोड ७० लाख २० हजारको कारोबार भएको छ ।
नेप्सेका आज अहिलेसम्मको दोस्रो उच्च रकमको कारोबार भएको हो । यसअघि, गएको आइतबार १७ अर्बमाथिको कारोबार भएको थियो । बजारलाई लिड गर्ने बैंकिङसँगै विकास बैंक र वित्त कम्पनी उपसूचकमा हरियाली छाउँदा नेप्सेले नयाँ इतिहास रचेको छ ।
आज नेप्सेमा विकास बैंक उपसूचक सर्वाधिक ३ ।७४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक ३ ।३४ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ३ ।३२ प्रतिशत र बैंकिङ उपसूचक २ ।७१ प्रतिशतचले बढेको छ ।
बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । पछिल्लो बुलिस बजारमा अन्य क्षेत्रको तुलनामा कम बढेको बैंकिङ तथा विकास बैंक क्षेत्रमा पछिल्लो केही दिनयता भने लगानीकर्ताको आकर्षण बढेको छ ।
यता, हाइड्रोपावर उपसूचक भने सर्वाधिक २ ।०४ प्रतिशतले घटेको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ७ ।८६ अंकले बढेर ५१३ ।११ अंकमा पुगेको छ ।



