आइएमइ समूह इकमर्शमा प्रवेश
आइएमइ समूह पनि इकमर्शमा प्रवेश गरेको छ। हाल सञ्चालनमा रहेको सस्तोडिलमा लगानी गर्दै उक्त समूह इकमर्शमा प्रवेश गरेको हो।
नेपालको ठूलो मध्येको एक व्यावसायिक समूह आइएमइले सस्तो डिलमा लगानी गर्ने भएको हो। नेपाली लगानीमै स्थापना भएको सस्तो डिलले ठूलो साझेदार पाएको छ।
आइएमइ समूहले लगानी गरेर सस्तोडिलमा भित्रिएको र सबै कानूनी प्रक्रिया पूरा भएको सस्तोडिलका संस्थापक तथा सिइओ अमुन थापाले जानकारी दिए।
‘उहाँहरु सस्तो डिलमा लगानीकर्ताको रुपमा प्रवेश गर्नुभएको छ। तर हामीले लगानीको अंक तथा हिस्साबारे कुनै डिस्क्लोज गरेका छैनौं’ उनले भने।
सस्तोडिलमा थापासहित टेली भेन्चर, डोल्मा फान्डेशन लगायतका सस्थाहरु लगानीकर्ताको रुपमा रहेका छन्।
आधा दर्जन बढी क्षेत्रमा लगानी रहेको समूहका डेढ दर्जन बढी कम्पनीमा लगानी छ।
बैंक तथा वित्तीय संस्था, पर्यटन, उर्जादेखि रिटेलसम्मका व्यवसायमा लगानी विस्तार गरेको समूह इकमर्श प्रवेश गरेसँगै अर्को क्षेत्र पनि थप गरेको छ।
राम्रो प्रगति गरिरहेको स्टार्टअप सस्तोडिलमा रणनीतिक लगानीर्ताको रुपमा भित्रिएको आइएमइका सहसंस्थापक हेमराज ढकालले जानकारी दिए।
आइएमइको प्रवेशसँगै सस्तो डिललाई काठमाडौं बाहिर विस्तार गर्न सजिलो हुने थापाको विश्वास छ।
आइएमइ समूह आफैमा ठूलो र विस्तारित व्यापार भएकाले यो काम सजिलो हुने उनको बुझाइ छ।
‘हुन त उहाँहरु पनि अरु लगानीकर्ता जस्तै हो तर पनि उहाँहरुको जुन देशभरको च्यानल छ त्यसबाट हामीलाई काठमाडौं बाहिर विस्तार हुन सजिलो हुन्छ होला’ थापाले भने।



