टाटा मोटर्सका लागि सिप्रदी ट्रेडिङ्ग र सानिमा बैंकबीच सम्झौता
टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र सानिमा बैंकबीच सम्झौता भएको छ । अब टाटा मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सानिमा बैंकको देशैभरि जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधि, २०७५ को अधिनमा रही बैंकको नीतिअनुसार ग्राहकहरुलाई व्यावसायिक प्रयोजनका सवारीसाधन खरिदमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने जनाइएको छ ।
तोकिएको सहुलियतपूर्ण कर्जाभित्र व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन् ।
उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट उपाध्यक्ष सौरभराज थपलिया र सानिमा बैंककातर्फबाट एसएमई मिड साइज बिजनेस प्रमुख हि’टल’र श्रेष्ठले हस्ताक्षर गरेका छन्। सरल र सहजकर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङका देशभरि रहेका सम्पूर्ण डिलरहरुबाट पनि उपलब्ध हुने जनाइएको छ ।



