मुन्धुमस्टार डटकम — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई विश्वासको मत नदिने प्रस्ट पारेका छन । संसद्को दोस्रो, तेस्रो दललगायतका पार्टीहरूको गठबन्धनको सरकार बन्दा विश्वासको मत दिने कुरा कांग्रेसमा छलफलको विषय नै नभएको आफूलाई लागेको थापाको भनाइ छ ।

संसदीय दलको बैठकपछि शनिबार महामन्त्री थापाले भने, २६ गते जुन दिन संसद्‌मा प्रधानमन्त्रीले विश्वासको मतका लागि आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ, त्यही दिन बिहान ९ बजे हामी बैठक बस्छौं । त्यो बैठकमा निर्णय गर्नेछौं । नेपाली कांग्रेस पार्टीले यो बेलामा संसद्‌भित्र दोस्रो, तेस्रो पार्टी मिलेर गठबन्धन बनाएर विश्वासको मत लिन उम्मेदवार प्रस्तुत गरेपछि त्यहाँ विश्वासको मत दिने कुरा सामान्य छलफलको विषय होइन । हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो । नेपाली कांग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ । प्रतिपक्षमा बस्छ भन्नेकुरा स्पष्ट छ ।’