मुन्धुमस्टार डटकम — चालक तथा सहयोगीका रूपमा राखिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० जनाभन्दा धेरै कर्मचारीलाई गृह मन्त्रालयले बुधबार फिर्ता गरेको छ । सुरक्षाकर्मीको दुरुपयोग रोक्न अभियानअन्तर्गत प्रहरी फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।

गृहमा राखिएकामध्ये धेरैजसो चालक थिए । निजामतीका चालकभन्दा प्रहरीका चालक अनुशासित हुने भएकाले गृहका कर्मचारीले प्रहरी चालक राख्दै आएका थिए । विगतमा पनि यस्ता चालक फिर्ता गराउने प्रयास सफल हुन सकेको थिएन । गृहमन्त्री रवि लामिछानेले सुरक्षाकर्मी दुरुपयोग रोक्न निर्देशन दिएपछि मन्त्रालयमा सुरक्षामा खटिनेबाहेकका प्रहरी फिर्ता भएका हुन् ।

गाडीको सुविधा नै नपाउने गृहका कर्मचारीले पनि चालकसहित यस्तो सुविधा लिँदै आएका छन् । कार्यालय प्रमुखबाहेक सहसचिवसम्मले चालक पाउनेमा मन्त्रालयका सबैजसो उपसचिवले गाडीको सुविधा प्रयोग गर्दै आएका छन् । यसअघि मन्त्रीको सचिवालयमा पनि सुरक्षाकर्मीको दुरुपयोग हुँदै आएको थियो ।