मुन्धुमस्टार डटकम — चीनको नयाँ परराष्ट्रमन्त्रीमा छिन काङ नियुक्त भएका छन । चिनियाँ सरकारी रेडियोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले राष्ट्रपति सी चिनफिङले छिनलाई विदेशमन्त्रीमा नियुक्त गरिएको जनाएको छ ।

अमेरिकाका लागि चिनियाँ राजदूत रहेका ५६ वर्षीय छिनले वर्तमान परराष्ट्रमन्त्री वाङ यीको ठाउँ लिने भएका हुन । ६९ वर्षीय वाङलाई गत अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी) को महाधिवेशनमा पोलिटब्युरोमा बढुवा गरिएको थियो । उनलाई सीपीसीले विदेश नीतिसम्बन्धी ठूलो भूमिका दिने तयारी गरिएको बुझिएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयमा एक कुशल कूटनीतिज्ञका रूपमा परिचित छिनले विदेश मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारी सम्हालिसकेका छन । त्यस्तै उनले बेलायतस्थित चिनियाँ दूतावासमा समेत काम गरिसकेका छन ।
सन २०१४ देखि २०१८ सम्म उनी राष्ट्रपति सीको चिफ प्रोटोकल अफिसरका रूपमा जिम्मेवारी सम्हालेका थिए । परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि छिन ११ महिनापछि अमेरिकाका लागि चिनियाँ राजदूतको भूमिकाबाट फर्कने भएका छन ।