कांग्रेस प्रदेश–१ दलको नेताका लागि तीनजनाको मनोनयन दर्ता
नेपाली कांग्रेस प्रदेश नम्बर–१ संसदीय दलको नेताका लागि बिहीबार तीनजनाले मनोनयनपत्र दर्ता गराएका छन् । कांग्रेस प्रदेश–१ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र नेता केदार कार्कीले उमेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीका अनुसार अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनीताकुमारी गुरुङ रहेका छन् ।
थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई तथा कार्कीको प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शमशेर राई रहेका छन् । दलको नेतामा दाबी गर्दै आएका कांग्रेसका केन्द्रीय सदस्य पराजुली थापाको समर्थक बसेका हुन् ।
अर्याल संविधानसभा सदस्य तथा मोरङ क्षेत्र नम्बर–५ ‘ख’बाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । प्रदेश सभापति थापा समानुपातिक सांसद हुन् । कार्की मोरङ–६ ‘ख’बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी हाल प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पनि छन् ।
अर्याल संस्थापन (सभापति शेरबहादुर देउवा) समूह, थापा कृष्णप्रसाद सिटौला समूह र कार्की संस्थापनइतर (शेखर कोइराला) समूहका नेता हुन् । नेता छान्न भोलि निर्वाचन हुने बताइएको छ ।



