मन्त्री फेरिए लगत्तै निवास व्यवस्थापनमा राज्यकोषको सवा करोड खर्च
मुन्धुमस्टार डटकम — नयाँ मन्त्रीका लागि आवास व्यवस्थापनमा मात्रै राज्यको करिब सवा करोड रूपैयाँ खर्च हुने गरेको छ। पुल्चोकस्थित मन्त्री निवासमा नयाँ मन्त्री सर्नुअघि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले मन्त्री क्वार्टरको रंगरोगन, सरसफाइ तथा मन्त्रीको परिवारका लागि आवश्यक सामग्री पुर्याउने गर्छ। व्यवस्थापन कार्यालयका कर्मचारीहरू बुधबार मन्त्री क्वार्टर पुगी खाली भएका मन्त्री क्वार्टरको सरसफाइ गरेका थिए। बिहीबार उनीहरूले प्रत्येक क्वार्टरमा छुट्टाछुट्टै सामान पुर्याउने छन्।
कार्यालयका कर्मचारीका अनुसार ज्ञ्ास चुल्हो, वेड, कार्पेट, गलैंचा, पर्दा, म्याट्रेक्स, फ्रिज, खाट, तातापानी, पर्दा आउने मेसिनलगायतका सामग्री पुर्याउने तयारी भएको छ। आवश्यक देखिएमा तथा मन्त्रीका परिवारका सदस्यले माग गरेमा सोफा पनि थप्ने तयारी भएको छ। टेलिभिजन तथा नेट भने पहिले नै तयार जोडिएको कर्मचारीहरू बताउँछन्। कार्यालयका स्टोरकिपर पशुपति पोखरेलका अनुसार एउटा मन्त्री क्वार्टरमा साज सजावट रंगरोगन तथा अन्य व्यवस्थापनमा सामान्यता ५ देखि ६ लाख खर्च हुन्छ।
यसैगरी, सरसफाइमा ४० देखि ५० हजार खर्च हुने गर्छ। मन्त्री क्वारटको सरसफाइका लागि भनेर व्यवस्थापन कार्यालयले १९ जना कर्मचारी भर्ना गरेको छ। कार्यालयका अनुसार भान्साका लागि आवश्यक पर्ने थप सामग्री भने सम्बन्धित मन्त्रीको परिवारका सदस्यले आफैं ल्याउने गरेका छन्। मन्त्री क्वार्टर प्रयोग नगरेका मन्त्रीहरूको निवासको भाडा तथा आवास व्यवस्थापन खर्च सरकारले व्यहार्ने गर्छ।



