मुन्धुमस्टार डटकम — सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठकमा सरकारमा सहभागी हुनुपर्ने माग उठेको छ । सांसदसमेत रहेका कार्यसम्पादन समिति सदस्यका साथै बहुसंख्यक नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका हुन ।
बैठकमा सहभागी एक नेताका अनुसार सांसदसहित बहुसंख्यक कार्यसमिति सदस्यहरूले पार्टी सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका हुन । उनीहरूले पार्टी नेतृत्वलाई सरकारमा सहभागी हुने निर्णय लिन सुझाव दिएका छन ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतले सरकारमा जान नहुने सार्वजनिक अभिव्यक्ति दीरहेका बेला सांसद र कार्यसम्पादन समितिका बहुसंख्यक सदस्यहरूले भने पार्टीबाट मन्त्री पठाउनुपर्ने धारणा राखेका हुन ।

राप्रपाका अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष मिश्रलगायतले पार्टीका माग पूरा गरेमात्र दाहाल नेतृत्वको सरकारमा जानुपर्ने धारणा राख्दै आएका थिए । पार्टीले उठाउँदै आएका हिन्दुराष्ट्र, राजसंस्था लगायतका माग पूरा गरेमात्र सरकारमा सहभागी हुनुपर्ने नत्र सरकारलाई बाहिरबाट मात्रै समर्थन गर्नुपर्ने लिङ्देन र मिश्रलगायतले धारणा राख्दै आएका थिए ।

प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन । राप्रपाले दाहाल सरकारलाई समर्थन दिएको छ । अब सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे छलफल गर्न आज राप्रपाको कार्यसम्पादन समिति बैठक बसेको हो ।