अर्थमन्त्री विष्णु पौडेलले वार्ता गर्न बोलाएपछि पूर्वका उद्योगीको आन्दोलन स्थगित भएको छ ।

पौडेलले कार्यभार सम्हाले लगत्तै विराटनगरमा आन्दोलनमा रहेका उद्योगीलाई वार्तामा आउन आग्रह गरेका हुन् । राष्ट्र बैंकको विराटनगर कार्यालयको प्रवेशद्वार अघि उद्योगी दैनिक धर्नामा बसिरहेका थिए ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले अर्थमन्त्रीले वार्तामा बोलाएसंगै आजबाट आन्दोलनमा सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

उद्योगी व्यवसायी चार दिनदेखि नेपाल राष्ट्र बैंकअघि प्रदर्शनसहित धर्नामा बसिरहेका थिए । सोमबार बिहानैदेखि कर्मचारीलाई कार्यालयभित्र प्रवेश गर्न अवरोध गरेका थिए ।

चर्को बैंक ब्याजदरविरुद्ध संघ, उद्योग संगठन, नेपाल उद्योग परिसंघ सहितका व्यवसायिक संस्थाले आन्दोलनमा थिए । उद्योगीको प्रतिनिधि मण्डल आजै छलफल र वार्ता गर्न काठमाडौं जाने भएको छ । उद्योगी व्यवसायीले ब्याजदर एकल अंकमा कायम गरिनुपर्ने माग गरिरहेका छन् ।