नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि ‘शक्ति बाँडफाँट’ गरेर जाने विषयमा लगातार छलफल भइरहेको छ । आम निर्वाचनले दिएको परिणामअनुसार पनि नयाँ सरकार गठनका विभिन्न विकल्प देखिएकाले एमालेले माओवादीसँग लगातार छलफल गरिरहेको छ ।

त्यसका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरुले लगातार माओवादीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । माओवादीबाट भने वर्षमान पुनले वार्ता जारी राखेको उच्च स्रोत बताउँछ ।

चुनावलगत्तै नेकपा एमालेका नेता विष्णु पौडेलले दाहाल निवास पुगेर प्रचण्डसँग छलफल गरेका थिए । त्यसपछि रघुबीर महासेठ, सुवास नेम्वाङ र योगेश भट्टराईले पनि माओवादीका अध्यक्ष दाहाललाई खुमलटार पुगेर भेटेको स्रोतले जानकारी दियो ।

“राष्ट्रपति र सभामुख लिएर तीनवर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेका नेताहरु तयार हुनुभएको छ,” माओवादी उच्च स्रोतले बाह्रखरीसँग कुराकानी गर्दै भन्यो, “प्रचण्डले सकेसम्म यही गठबन्धन जोगाएर पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्छ भन्नुभएको छ ।”

माओवादीले किन रोज्दैछ एमाले ?

नेकपा माओवादीका एक  नेताका अनुसार माओवादीले एमाले रोज्नुको खास कारण छ । कांग्रेसभित्र देखिएको विवाद र चुनावी परिणाम ।

चुनावमा माओवादी उमेदवारलाई कांग्रेस कार्यकर्ताले मतदान नगरेको सो पार्टीको ठहर रहेको छ ।

“चुनावमा कांग्रेसका कार्यकर्ताले जति सहयोग गर्नुपर्ने हो त्यो गरेनन्,” ती नेताले भने, “एमालेसँग गठबन्धन गरेर चुनावमा जाँदा यस्तो समस्या भएको थिएन । भोट ट्रान्सफर भएको थियो ।”

त्यसका लागि पनि एमालेसँग पार्टी एकता नगरे पनि सहकार्य गर्दै जानुपर्ने र निषेधको राजनीति त्याग्नुपर्ने दबाब पार्टीभित्रैबाट प्रचण्डलाई परेको छ ।

अर्को कारण हो– कांग्रेसभित्रको आन्तरिक विवाद ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा गठबन्धन जोगाउने, सकेसम्म माओवादीलाई पछिल्लो सरकारको नेतृत्व गर्न सहयोग गर्ने नभए यसैपल्ट दिन तयार छन् । तर कोइराला–गगन समूह त्यो मान्न तयार छैन ।