सुनसरीको धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई र कार्यपालिका सदस्यको विवाद थप चर्किएको छ । १३ भदौको कार्यपालिका बैठकमा मेयर राई र वडाध्यक्षहरुबीच विवाद भएको थियो । त्यसयता कार्यपालिका बैठक नै बस्न सकेको छैन ।

मेयर राईले कात्तिक १७ गते, २४ गते र मंसिर २९ गते डाकेको बैठक पनि बस्न सकेन । मेयर निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाउँदै कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गर्दै आएका छन् ।

बिहीबार पनि बैठक बहिस्कार गरेका उनीहरुले वक्तव्य जारी गरेका थिए, जसमा नगर प्रमुख राईले गैरजिम्मेवारी अभिव्यक्ति दिएकाले त्यसप्रति माफी माग्नु पर्ने माग गरिएको छ ।

नगर प्रमुखको वक्तव्य, कार्यपालिका सदस्यको राजीनामा माग

नगर प्रमुख राईले शुक्रबार पत्रकार सम्मेलन गरेर आफने प्रतिरक्षा मात्र गरेनन्, बैठक बहिस्कार गर्दै आएका कार्यपालिका सदस्यको राजीनामा नै मागेका छन् ।

कार्यपालिका सदस्यहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ (१) मा व्यवस्था गरे बमोजिम महिनाको कम्तिमा एक पटक बैठक बस्नुपर्ने नियमलाई उल्लघंन गरेको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

कार्यपालिका सदस्यहरुले विधिको शासन नमानेको भन्दै उनले भनेका छन्, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ को उपधारा ४ को खण्ड ‘क’ को ‘६’ ले नगरप्रमुखलाई दिएको कार्यपालिका बैठक÷कार्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकारको प्रयोग गरी रोक्न खोज्दा सम्मानित कार्यपालिकाको विधिको धज्जी उडाएर होहल्ला गरिनु गैरकानुनी, आपत्तिजनक र खेदजनक घटना हो ।’

सुशासन र विकासका लागि गरिनुपर्ने अनिवार्य निर्णय र काम कारबाहीका लागि कार्यपालिका बैठक बस्नुपर्ने भएपनि कार्यपालिका सदस्यहरुले बैठकमा सहभागी हुने कर्तव्य पुरा नगरेको भन्दै उनले भनेका छन्, ‘अनुशासनहीनता र लापरबाही देखाएकाले सबै कार्यपालिका सदस्यलाई सच्चिन आवश्यक देखेको छु ।’

उनले धराने जनतालाई आफ्नो काम कारबाहीको मूल्यांकन गर्न पनि अनुरोध गरेका छन् ।

धरान १७ का वडाध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता सूर्य भट्टराई (मनोज) भने नगरको नेतृत्वमा रहेका मेयरले राईले बैठक सुरु गर्न कुनै पनि पहल नगरेको बताउँछन् । बरु, नगर प्रमुख राईले अराजक र स्वेच्छाचारी प्रवृत्ति देखाएको उनको आरोप छ ।

के हो विवाद ?

१३ असोजको कार्यपालिका बैठकमा नगर प्रमुख राईले धरानको वडा नम्बर १७ मा रहेको सप्तरंगी पार्कलाई बहुसांस्कृतिक पार्कका रुपमा विकास गर्ने प्रस्ताव राखेका थिए ।

कार्यपालिका सदस्य अनुप देवान, प्रस्तावको विपक्षमा उभिए । धरान १४ मा बहुजातीय सांस्कृतिक भवन रहेकाले धरान १७ को सप्तरंगी पार्कलाई पार्ककै रुपमा विकास गर्नुपर्ने उनको तर्क थियो । मेयर राईले देवानको प्रस्ताव सुनेनन्, बरु बैठकस्थलबाट निस्किन निर्देशन दिँदै भने, ‘बाहिर जानुस्’ ।

बैठकको अध्यक्षता गरिरहेका मेयरले कार्यपालिका सदस्यलाई बैठकस्थल छाडेर जान भनेपछि अरु सदस्य विरोधमा उत्रिए । मेयर राईको अभिव्यक्ति स्वेच्छाचारी, गैरकानुनी र गैरजिम्मेवार भएकाले तत्काल माफी माग्नुपर्ने उनीहरुको माग थियो ।

तर मेयर राईले कार्यपालिका सदस्य देवानले मर्यादालाई मिचेर अभद्र शैली देखाएकाले आफूले बाहिर निस्कन आग्रह गरेको बताउँदै आफ्नो बचाउ गरेका छन् ।

माफी नमागेसम्म बहिस्कार गर्ने

मेयर राईले कार्यपालिका सदस्यमाथि गरेको व्यवहार अभद्र र अपमानजनक भएको भन्दै कार्यपालिका सदस्यहरुले कार्यपालिका बैठक बहिस्कार गर्दै आएका छन् ।

धरान–१७ का वडाध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता सूर्य भट्टराई भट्टराई नगर प्रमुख राईले कार्यपालिका सदस्यमाथि गरेको अपमानजनक शब्द फिर्ता लिएर माफी नमागेसम्म कोही पनि कार्यपालिका सदस्यहरु बैठकमा सहभागी नहुने बताउँछन ।

‘मेयर सा’बले आफ्नो गल्ती स्वीकार गर्ने भन्दा पनि तोकआदेशको भरमा नगर चलाउँछु भन्दै कार्यपालिका सदस्यहरु धरान बिगार्न आएको भन्ने भ्रम फैलाइरहेकोले बैठकमा सहभागी हुँदैनौं’, वडाध्यक्ष भट्टराईले भने, ‘मेयरले माफी मागेर सहज वातावरण निर्माण गर्नुपर्छ ।’

कार्यपालिका सदस्यहरुले मेयर राईमाथि एकलौटी निर्णय गर्दै निरंकुश शैलीमा अघि बढेको आरोप पनि लगाएका छन् । विकास निर्माणका लागि आवश्यक उपभोक्ता समिति गठनमा रोक लगाएको, कार्यपालिकाको निर्णयबिना साबुन उद्योगको निर्माणसुुरु गरेको, वीपी पार्कको नाम परिवर्तन गरी आफ्नो फोटो राखेर श्रम संस्कृति पार्क नामाकरण गरेको उनीहरुको आरोप छ ।

सामाजिक सञ्जालमा गालीगलौज गरेको, जातीय सद्भाव खलबलिने गरी दलित समुदायको आत्मासम्मानमा चोट पुर्‍याएको, सेवाग्राहीलाई हप्कीदप्की गरेको, राष्ट्र सेवक कर्मचारीलाई अपमानित गरेको दाबी पनि कार्यपालिका सदस्यहरुको छ ।

कार्यपालिका अनिर्णित हुन हुँदैन : उपप्रमुख

नगर प्रमुख र कार्यपालिका सदस्यहरु आआफ्नो अडानमा रहँदा कार्यपालिकाको काम प्रभावित भएको छ । धरानका उपप्रमुख अइन्द्रविक्रम बेघा भने मेयर र कार्यपालिका सदस्यहरु दुवैपक्षले आफ्नो अडानमा पुर्नविचार गर्नुपर्ने उनले बताएका छन् ।

‘मेयर र वडाध्यक्षहरु मेरो गोरुको बाह्रै टक्का भनेजसरी अडानमा रहिरहँदा धरान अनिर्णयको बन्दी बनेको छ,’ उपमेयर बेघाले भने, ‘जनताको मुद्दाहरु ओझेल पर्दै आएको छ, कार्यपालिका सञ्चालन गर्न दुवै पक्ष लचिलो बन्नुपर्छ ।’