आज साताको अन्तिम दिन नेप्से परिसूचक १४.४८ अंकले गिरावट
साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । गएको मंगलबारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीबार १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा झरेको छ ।
यस्तै, सेन्सेटिभ इन्डेक्स २.१५ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.९९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८१ अंकले घटेको छ ।
बिहीबार कारोबारमा आएका २८४ कम्पनीको ४८ लाख चार हजार कित्ता सेयर एक अर्ब १९ करोड २६ लाख १६ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ । यस दिन कारोबार रकम भने बढेको छ ।
बिहीबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । त्यसमध्ये वित्त उपसमूहको परिसूचक १.४९ प्रतिशतले घटेको छ । जलविद्युत्, जीवन बिमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
नेप्से परिसूचकका दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रुरु जलविद्युत् परियोजना र इस्टर्न हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । माउन्टेन इनर्जीको सेयर मूल्य साढे ७ प्रतिशतले बढेको छ ।
यस दिन पिपुल्स हाइड्रोपावरको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल क्रेडिट एन्ड कमर्स बैंकको २२ करोड ८९ लाख ४२ हजार रुपैयाँबराबरको संस्थापक सेयरको कारोबार भएको छ ।



