रुसी आक्रमणका कारण एक करोड युक्रेनीहरू बिजुलीबाट वञ्चित,कम्तीमा सात जनाको मृत्यु

मुन्धुमस्टार डटकम- रुसले गरेको नयाँ क्षेप्यास्त्र आक्रमणका कारण कम्तीमा सात जना मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसद्वारा गरिएका पछिल्ला क्षेप्यास्त्र आक्रमणहरूपछि एक करोड युक्रेनीहरू बिद्युत आपूर्तिबाट वञ्चित हुन पुगेको जनाएका छन्।
हमलाहरूमा कम्तीमा सात जना मारिएको र त्यो सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ। “हामीले आपूर्ति व्यवस्था सामान्य तुल्याउन हरेक प्रयास गरिरहेका छौँ,” जेलेन्स्कीले राति गरेको सम्बोधनमा भनेका छन्।
जापोरिजाको दक्षिण पश्चिमतर्फ पर्ने नीकोपोल शहर क्षेत्रमा ७० वटा बम प्रहार भएका छन्। त्यहाँका हजारौँ घरहरूमा पानी र बिजुली आपूर्ति बन्द छ। ऊर्जा आपूर्ति बन्दको मारमा खास गरी राजधानी किएभ, पश्चिमी शहर भिनित्स्या, दक्षिण पश्चिमी तटीय शहर ओडेसा र उत्तर पूर्वी शहर सुमीका बासिन्दा छन्।
राष्ट्रपति जेलेन्स्कीले आफ्ना नागरिकलाई बिजुली र न्यानोको निम्ति गरिएको बन्दोबस्त ध्वस्त तुल्याएको आरोप रुसमाथि लगाए। युक्रेनी नेताले आफ्ना सहयोगीहरूलाई ‘युक्रेनी आकाशको पूर्ण सुरक्षाको निम्ति’ गरेको आग्रह दोहर्याएका छन्। भने मस्कोले किएभ ‘सहमति गर्न अनिच्छुक रहेको’ भन्दै पछिल्ला आक्रमणहरूको औचित्य दर्शाउन खोजेको छ।