भोजपुरमा सत्तारुढ गठबन्धनको चुनावी सभा नजिकै बम विष्फोट

भोजपुरको पौवाडुङ्मा गाउँपालिकास्थित प्यौलीमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभास्थल नजिक बुधबार बम विस्फोट भएको छ ।
प्रहरीका अनुसार सत्तारुढ गठबन्धनको चुनावी सभास्थलबाट करिब ५०० मिटर टाढा दिउँसो २ः३० बजे बम विस्फोट भएको हो ।
चुनावी सभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतलगायतका नेताहरु सहभागी हुने कार्यक्रम भएपनि उनीहरु भने कार्यक्रम स्थलमा पुगेका छैनन् ।
विस्फोटको आवाज सुनेपछि प्रहरी घटनास्थल पुगेको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले बताए ।
‘विस्फोट के भयो भन्ने अहिलेसम्म पुष्टि भएको छैन । एक जना घाइते भएका छन् । घाइतेका अनुसार मोबाइल चार्ज गर्ने क्रममा विष्फोट भएको हो । अनुसन्धान गरिरहेका छौँ,’ गिरीले भने ।
घाइते हुनेमा स्थानीय ३५ वर्षीय सुमन श्रेष्ठ रहेका छन् । घाइते श्रेष्ठलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार श्रेष्ठ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको पाइएको छ ।
रातो झोलामा लुकाएर खाने बाकसमा राखिएको मोबाइल फोन श्रेष्ठले विस्फोट गराएको घिमिरेले बताए । उनले थपे कि तुलनात्मक रूपमा थोरै मात्रामा विस्फोटक पदार्थ प्रयोग गरिएको देखिन्छ।