Logo

मोरङ-१ मा लिम्बू र खतिवडाबीच तेस्रो पटक प्रतिस्पर्धा


मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं १ मा विगतका निर्वाचनमा जस्तै यसपटक पनि नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू र निवर्तमान सांसद नेकपा एमालेका घनश्याम खतिवडा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यो उनीहरुबीचको तेस्रो प्रतिस्पर्धा हो ।

२०७० मा भएको संविधानसभाको निर्वाचनमा डिगबहादुर लिम्बू १५ हजार दुई सय दुई मतसहित निर्वाचित हुँदा घनश्यामले १२ हजार नौ सय ८९ मत प्राप्त गरेका थिए। तर २०७४ सालमा वामगठबन्धनको साझा उम्मेद्वार बनेका खतिवडाले लिम्बुलाई पराजित गरेका थिए ।

भौगोलिक हिसाबमा जिल्लाको सबैभन्दा ठूलो निर्वाचन क्षेत्र मोरङ १ मा उत्तरी मोरङका केराबारी र मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका र पूर्वी मोरङको उर्लाबारी नगरपालिका पर्दछन् ।

एक लाख २३ हजार छ सय १५ जना मतदाता रहेको निर्वाचन क्षेत्रमा नौ दल र पाँच स्वतन्त्र उम्मेद्वार गरी १४ जना चुनावी प्रतिस्पर्धामा छन्। राप्रपाका होमनाथ गौतम उर्लाबारीकै भएकोले उनको प्रचार उर्लाबारी केन्द्रित छ ।

यो क्षेत्रमा नेपाल मजदूर किसान पार्टीका लक्ष्मीप्रसाद कवाँ, हाम्रो नेपाली पार्टीका राजेन्द्रप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेसनका सुरज लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बुद्धमाया लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठ र राष्ट्रिय जनमुक्त पार्टीका हर्कमान सम्बाहाम्फे चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै पाँचजना स्वतन्त्र उमेद्वारमा तिलकबहादुर मगर, मनिषा सुवेदी, फुलकुमारी पण्डित, निलु लिम्बू र यामप्रसाद दाहाल रहहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका चार स्थानीय तहका ३७ वडामा दलगत वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा एमालेको ९३५ मत बढी देखिन्छ। एमालेका उम्मेदवारले ३२ हजार तीन सय ६६ र कांग्रेसका उम्मेदवारले ३१ हजार चार सय ३१ मत ल्याएका थिए। माओवादी केन्द्रका उम्मेदवारले ६ हजार पाँच सय ८१, नेकपा समाजवादीले एक हजार ९३, राप्रपाले दुई हजार आठ सय ९० र जसपाका उम्मेदवारले चार सय ९४ मत पाएका थिए ।

कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बूले उत्तरी मोरङको कृषि पर्यटनलाई विकास गर्न सडक सञ्जाल र विद्युत् विस्तारलाई सबैभन्दा प्राथमिकतामा राखेको बताएको छ। कृषिबाट आयआर्जन गर्न सकिने उत्तरी मोरङको अलैँची, अम्लिसो, तेजपातको उत्पादन भण्डारण र प्रशोधनका लागि पहल गर्ने लिम्बूको भनाइ छ ।

त्यस्तै एमाले उमेद्वारा घनश्याम खतिवडा नीति निर्माण र यस क्षेत्रका समस्या सदनमा उठाउने प्रतिबद्धतासहित चुनावी अभियान चलाई रहेका छन्। नदी नियन्त्रण र व्यवस्थापन, स्वच्छ र शुद्ध खानेपानीको पहुँच विस्तार, आधारभूत स्वास्थ्य निःशुल्क र पूर्व(पश्चिम राजमार्गसँग उत्तरी मोरङका सबै वडालाई कोलोपत्र सडकको सञ्जालले जोड्ने प्रमुख एजेन्डासहित एमाले उम्मेदवार खतिवडाले अगाडि सारेका छन् ।

मोरङ १ प्रदेशसभा १ मा माओवादी केन्द्रका निवर्तमान सांसद कुलप्रसाद साँवा सत्ता गठबन्धनका उम्मेदवार छन्। एमालेले उमाकान्त गौतमलाई उम्मेदवार बनाएको छ। यहाँ चार दल र एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

राप्रपाले पूर्णबहादुर वाइबा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अर्जुन सिंह लिम्बू र मङ्गोल नेशनल अर्गनाइजेशनले शिवकुमार राईलाई उम्मेदवार बनाएको छ भने खड्गबहादुर थापा स्वतन्त्र उम्मेदवार हुन्। मोरङ १ प्रदेशसभा २ मा प्रदेश सरकारका यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे संयुक्त लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवार हुन् ।

त्यस्तै एमालेबाट जिल्ला विकास समिति मोरङका पूर्व सभापति खड्गबहादुर बस्नेत छन्। यहाँ छ दल र एक स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। राप्रपाले सन्तोष कार्की, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कृष्णकुमार लिम्बू, मङ्गोल नेशनल अर्गनाइजेसनले ओमकुमार लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीबाट टङ्कबहादुर गुरुङ र स्वतन्त्र उम्मेदवार दीपक राई चुनावी मैदानमा छन् । रासस

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्