५६ अंकले बढ्यो नेप्से, वित्त कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण
लगातार पाँच दिन ११३ अंकले घटेको धितोपत्र बजार मापक नेप्से परिसूचक सोमबार करिब ५६ अंकले बढेको छ । पाँच दिनसम्म लगातार घटेको नेप्से परिसूचकमा एकदिन ५० प्रतिशत कभर भएको हो । सोमबार नेप्से ५५.८८ अंक बढेको छ । यो घटेको अंकको करिब ५० प्रतिशत वृद्धि भएको हो ।
सोमबार बैंकहरूले भदौ महिनामा ब्याजदर नबढाउने भन्ने खबर बाहिरिएसँगै नेप्सेमा हरियाली देखिएको हो । सूचनाको भरमा चाल्ने बजारमा ब्याजदर नबढ्ने खबरको प्रभाव प्रत्यक्ष परेको देखिन्छ । पछिल्लो समय वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीको सूचक राम्रै रहेकाले पनि कतिपय लगानीकर्ता बजार बढ्नेमा आशावादी थिए ।
तर, राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा ब्याजदर बढाउन बैंकलाई प्रोत्साहन गरिएकाले कतिपयलाई भदौमा ब्याजदर बढ्ने आशंका थियो । निक्षेपको ब्याज नबढाउने नेपाल बैंकर्स संघको निर्णयले आगामी दिनमा बजार बढ्नमा सहयोग गर्ने बुझाइ लगानीकर्ताको छ ।
गत कारोबार दिन नेप्से करिब २८ अंक घटेको थियो । त्यस्तै उक्त दिन १ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । तर, आज नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । गत कारोबार दिनको तुलनामा कारोबार रकम ५५ करोड ९७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको हो ।
आज २१५ धितोपत्रको ५० लाख २६ हजार १९२ कित्ता सेयर खरिद–बिक्री भएको छ । मल्टिपर्पाेज फाइनान्स, राधि जलविद्युत कम्पनी र रिभर फर्ल्स पावरको सेयरमूल्य १० प्रतिशत बढेको छ भने १० ओटा धितोपत्रको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । रिडी पावर कम्पनीको सेयरमूल्य भने ९.९९ प्रतिशत घटेर ६३७.८० कायम भएको छ ।
यो कम्पनी रिडी हाइड्रोपावर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनी एक आपसमा मर्जर भएर बनेको कम्पनी हो । एकीकृत कारोबारपछि पहिलो दिन खुलेको सेयर कारोबारमा नकारात्मक सर्किट लागेको छ । लामो समय रोक्कापछि कारोबारमा आएको सेयर लगानीकर्ताले एकैपटक बेच्न खोज्दा कम्पनीको सेयरमूल्य घटेको हो ।
त्यस्तै, शिवम् सिमेन्ट, नेपाल लाइफ र हिमालयन डिस्टिलरीको सर्वाधिक रकमको सेयर खरिद–बिक्री भएको छ । यीमध्ये शिवम्को २१ करोड दुई लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको आज सेयरमूल्य २.१२ प्रतिशतले घटेर ६९२ रुपैयाँ कायम भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा वित्त समूह रहेको छ । यो समूहको परिसूचक ७.३८ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी दोस्रोमा परिसूचक बढी वृद्धि हुनेमा ‘अन्य’ समूह रहेको छ । यो समूहको परिसूचक ६.२७ प्रतिशतले वृद्धि भएको छ ।



