साउनयता वाणिज्य बैंकहरूमा निक्षेप संकलन लगातार घट्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार साउन लागेयता १३ गतेसम्म वाणिज्य बैंकहरूमा निक्षेप संकलन ९१ अर्ब रुपैयाँले कमी आएको हो ।

गत असार ३२ गतेसम्म ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन १३ गते वाणिज्य बैंकको निक्षेप ४४ खर्ब ५० अर्बमा झरेको छ ।

त्यसअघिको साता (साउन ६ गते) सम्म निक्षेप ४४ खर्ब ७८ अर्ब रुपैयाँ थियो । ६ गतेयता निक्षेप २८ अर्ब रुपैयाँ घटेको बैंकर्स संघको तथ्यांक छ । असार ३२ गतेदेखि साउन ६ गतेसम्म निक्षेप संकलन ६४ अर्ब घटेको थियो ।

त्यस्तै, कर्जा प्रवाह पनि घटेको छ । असार ३२ गतेयता कर्जा प्रवाह ११ अर्ब रुपैयाँ घटेको छ । पछिल्लो एक सातामा कर्जा प्रवाह एक अर्ब रुपैयाँ घटेको छ । साउन १३ गतेसम्म वाणिज्य बैंकहरूबाट ४१ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

त्यस्तै, उक्त मितिसम्म वाणिज्य बैंकको कर्जा–निक्षेपबीचको अनुपात (सीडी रेसियो) ८७.९८ प्रतिशत कायम भएको छ ।