प्रदेश नम्बर १ का १४ जिल्लाका प्रहरी कार्यालयमा दर्ता भएका आठ हजार ५५ मुद्दाबाट रु ३९ करोड २१ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

प्रदेश १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थको अवैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन परिचालित कर्मचारी र प्रहरीबाट सो सङ्कलन भएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले आर्थिक वर्ष २०७८÷०७९ मा विभिन्न अपराधसम्बन्धी शीर्षकमा दर्ता भएका सो मुद्दामध्ये तीन हजार १७७ फछ्र्योट भइसकेको जानकारी दिए। विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसाला भई फरार रहेका एक हजार ७३८ पक्राउ गरी रु आठ करोड सात लाख ४७ हजार ६७५ राजस्व सङ्कलन भएको उनले बताए ।

यसैगरी विभिन्न जिल्लामा अवैध भन्सार चोरी निकासी गर्ने ७३ जना मानिसलाई पक्राउ गरी रु ११ करोड ७४ लाख ४६ हजार ९२९ राजस्व सङ्कलन भएको छ। नदीजन्य पदार्थको अवैधरुपमा दोहन गर्ने ३७ जना र ६४५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गरी रु ३३ लाख ३१ हजार ५०० राजस्व सङ्कलन भएको उनको भनाइ छ ।

उनका अनुसार अवैध काठ चोरी निकासीमा संलग्न ४७ जना मानिस गरी चार हजार ६४८ क्युफिट काठ बरामद गरी रु एक करोड चार लाख ३३ हजार ५३७ राजस्व सङ्कलन भएको छ । यसैगरी ट्राफिक व्यवस्थापनतर्फ यस आर्थिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई लाख ६९ हजार ८२३ सवारी साधनलाई कारबाही गरी रु १८ करोड एक लाख ५९ हजार कार्यालयले राजस्व सङ्कलन गरेको छ ।

सोही अवधिमा प्रहरीले विभिन्न जिल्लाबाट रु आठ लाख १२ हजार ५१५ बोट गाँजा नष्ट गरेको छ। प्रदेश प्रहरी कार्यालयले सोही अवधिमा उत्कृष्ट कार्य गर्ने एक हजार ८६४ प्रहरी कर्मचारीलाई पुरस्कृत र प्रहरी आचरणविपरीत कार्य गर्ने ४२८ प्रहरी कर्मचारीलाई बिभागीय कारबाही गरिएको प्रवक्ता राईले । रासस