सेयर बजारमा दोहाेराे अंककाे गिरावट भएकाे छ । साताकाे दाेस्राे काराेबार दिन साेमबार बजार परिसूचक नेप्से २३.८५ अंकले गिरावट भएर १९३३.१३ अंकमा बन्द भएकाे छ।

आइतबार  सेयर बजारलाई प्रभाव पार्ने र नीतिगत र अन्य कुनै घटना नहुँदा पनि करिब ९५ अंककाे अस्वभाविक  वृद्धि  भएकाे नेप्सेमा आज करेक्सन  देखिएकाे छ ।

गत शुक्रबार अन्दाेलन गरिरहेकाे सेयर लगानिकर्ताका केही समूह नेपाल धिताेपत्र बाेर्डबीच सहमति भए पनि त्यसमा तत्काल बजारमा ठुलाे प्रभाव पर्ने कारण थिएन। त्यही पनि आइतबार नेप्सेमा ९५ अंककाे वृद्धि भएकाे थियाे। तर आज नै नेप्सेमा करेक्सन भएकाे छ।

नेप्सेमा गिरावट हुँदा जीवन बिमा र लगानी बाहेक सबै उपसूचक पनि घटेमा छन्। विकास बैंक उपसूचक सर्वाधिक साढे ३ प्रतिशत माथिले घटेकाे छ । नेप्सेमा करेक्सन भए पनि काराेबार रकम भने लगातार दाेस्राे दिन पनि २ अर्ब माथिकाे काराेबार भएकाे छ।

आज बजारमा कुल २ अर्ब ४ कराेड ४८ लाखकाे काराेबार हुँदा नागरिक लगानी काेषकाे सर्वाधिक १५ कराेड ६६ लाखकाे काराेबार भएकाे छ । आज दिनभर बजारमा १९३ कम्पनीकाे सेयर काराेबार भएकाेमा १६८ कम्पनीकाे सेयरमूल्यमा गिरावट हुँदा २८ कम्पनीकाे सेयरमूल्य बढेकाे छ। यस्तै १ कम्पनीकाे सेयरमूल्य स्थिर छ ।