लगातार दोस्रो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्से बढेको छ । मंगलबार बजार परिसूचकक नेप्सेमा ०.६१ प्रतिशतले वृद्धि भएको हो ।

लगातार तीन कारोबार दिन घटेर सोमबार १७.९९ अंकले बढेको नेप्से आज पनि १६.०४ अंकले बढेर २६५०.७० अंकमा बन्द भएको छ । नेप्सेसँगै वित्त कम्पनी, व्यापार र हाइड्रोपावरबाहेक सबै उपसूचकमा वृद्धि भएको छ ।

नेप्सेमा सुधार भए पनि सोमबारको भन्दा कारोबार घटेको छ । सोमबार दुई अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको बजारमा आज करिब दुई अर्ब  ५२ करोडको कारोबार भएको छ ।

आज बजारमा प्रभु इन्स्योरेन्सको संस्थापक सेयर १५ करोड ३३ लाखको कारोबार भएको छ । यस्तै, नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक करिब ११ करोडको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको साढे आठ करोडको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९३ कम्पनीको सेयर कारोबारमा आएकामा १०६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ७७ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थिर छ ।

आज कारोबार भएका मध्ये इमर्जिङ नेपालको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा राष्ट्र उत्थान लघुवित्तको ६.०९ प्रतिशत र नेपाल लाइफ इन्स्योरेन्सको ५.१८ प्रतिशतले बढेको छ ।

कालिका पावरको सेयर मूल्य सर्वाधिक २.८१ प्रतिशतले गिरावट हुँदा ङ्यादी ग्रुप पावर कम्पनीको सेयर मूल्य २.४४ प्रतिशत र मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य २.३५ प्रतिशतले गिरावट भएको छ ।