लिम्बु र श्रेष्ठ विरूद्ध ९ करोड ७४ लाख बिगोको मुद्दा
गैरकानुनी तरिकाले डलर सटही तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा राजश्व अनुसन्धान विभागले दुई जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
विभागले मंगलबार ९ करोड ७४ लाख ६९ हजार ९८३ रुपैयाँ बिगो माग गर्दै दुई जनाविरूद्ध मुद्दा दायर गरेको हो। मुद्दा दायर गरिएका व्यक्तिमा मोरङ रतुवामाई नगरपालिका-७ का २८ वर्षीय पुष्कर श्रेष्ठ र २३ वर्षीया विनिता लिम्बु छन्।
उनीहरूले सामूहिक रूपमा मोबाइल एप वान एक्स बेट, बाइनान्स, एडिभी क्यास, क्वाइनबेस, प्याक्सफुल प्रयोग गरी डलर विनिमय गरेको विभागको अनुसन्धानबाट खुलेको छ। यी एपहरू विदेशी हुन्। ती एपबाट उनीहरूले अमेरिकी डलर सटही र क्रिप्टोमा लगानीकर्ताको रूपमा रहेर नेपालका बैंकबाट ठूलो रकम विनिमय गराएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए।
उनका अनुसार पुष्करले मेगा बैंकबाट ८४ लाख ८३ हजार ४२९, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख ७६ हजार ९९, एनआइसी एसिया बैंकबाट १ करोड ८२ लाख ४९ हजार ८८९ र राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड ३६ लाख ६२ हजार ५३९ गरी ७ करोड ५७ लाख ७१ हजार ९५८ रुपैयाँ विनिमय गराएको अनुसन्धानमा खुलेको छ।
यस्तै, लिम्बुले एनआइसी एसिया बैंकबाट दुई करोड १६ लाख ९८ हजार २४ रुपैयाँ विनिमय गराएको पाइएको छ। नेपालमा मोबाइल एपबाट डलर विनिमय कारोबार प्रतिबन्धित छ। साथै, संस्थागत रूपमा मात्रै डलर विनिमयको कारोबार बैंकहरूलाई दिइने गरिएको छ। बैंकहरूले सीमित रूपमा व्यक्तिहरूलाई आवश्यकताको आधारमा डलर उपलब्ध गराउने गर्छन्।
श्रेष्ठ र लिम्बुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, राष्ट्र बैंकले निषेधित गरेको कसुर पुष्टि गरेको देखिएकाले बिगो जफत र तीन वर्षसम्म कैद सजाय माग गरिएको विभागले जनाएको छ। विभागले केही समयअघि कैलाली लम्कीचुहा नगरपालिका-३ का दिनेश खड्कासहित तीन जनाविरूद्ध ३७ करोड बिगो माग्दै अदालतमा मुद्दा दायर गरेको थियो।



