बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने सहमति गरेसँगै सेयर बजारमा पनि हरियाली देखिएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ३.९४ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार सुरुवातबाट नै वृद्धि भएको नेप्से बीचमा केही उतारचढाव देखिए पनि १०१.०७ अंकले वृद्धि भएर २६६७.९७ अंकमा बन्द भएको छ । नेप्सेसँगै  ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १६.३७ (३.३२ प्रतिशत) ले वृद्धि भएर ५०९.९० अंकमा बन्द भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । पछिल्लो केही समययता दुईदेखि तीन अर्बको वरिपरि रहेको कारोबार रकम बढेर आज चार अर्ब ८७ करोड पुगेको छ । आज बजारमा १९२ कम्पनीको सेयर कारोबार भएकोमा १८८ कम्पनीको  सेयर मूल्य बढेको छ भने चार कम्पनीको सेयर मूल्य मात्रै घटेको छ ।

अपी पावर कम्पनी, तेह्रथुम पावर कम्पनी, युनाइटेड इदी मादी एन्ड आरबी कम्पनी र आईसीएफसी फाइनान्स कम्पनीको  सेयर मूल्यमा सामान्य गिरावट भएको छ । एसियन लाइफ, ज्योति लाइफ, सानिमा लाइफ, इमर्जिङ नेपाल र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

आज बजारमा कारोबार भएका मध्ये शिवम् सिमेन्टको सर्वाकि ३४ करोडको कारोबार हुँदा अपी पावरको र ३० करोडको सेयर कारोबार भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गएको र चैतमा निक्षेपको ब्याजदर नबढाउने सहमतिले पनि बजारमा सकारात्मक प्रभाव परेको हो । यस्तै, कतिपय कम्पनीको सेयर मूल्य तल्लो विन्दुमा झरिसकेकोले  दीर्घकालीन लगानीकर्ताले बजार प्रवेश गर्ने अवसरका रूपमा लिँदा समेत  बजार सकारात्मक बनेको बुझाइ लगानीकर्ताको छ ।