सेयर बजारमा उच्च गिरावट
नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा जोखिम भार बढाएको प्रभाव सेयर बजारमा देखिएको छ ।
चालु मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरवलोकन गर्ने जनाएको राष्ट्र बैंकले बुधबार एक परिपत्रमार्फत १०० प्रतिशत रहेको जोखिम भारलाई बढाएर १५० प्रतिशत पुर्याएको थियो ।
जसले गर्दा साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा २.१८ प्रतिशतको उच्च गिरावट भएको छ ।
आज नेप्से परिसूचक ५८.९९ अंकले घटेर २६६१.४४ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ ।
यता ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १०.३६ अंकले घटेर ५०७.५८ अंकमा बन्द भएको छ ।
आज दिनभर बजारमा १९१ कम्पनीको सेयर कारोबारमा आएका छन् । जसमध्ये १८५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५ कम्पनीका सेयरमूल्य भने बढेको छ ।
हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्यमा ९.९१ प्रतिशतको उच्च वृद्धि भएपनि अन्य ६ कम्पनीको सेयरमूल्यमा समान्य वृद्धि भएको छ ।
सेयर मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा तीनवटा हाइड्रोपावर छन् ।
युनिभर्सल पावरको सेयरमूल्य सवार्धिक ५.७० प्रतिशतले गिरावट हुँदा न्यादी हाइड्रोपावरको ५.४५ प्रतिशत, नयाँ सारथी लघुवित्तको ५.४३ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सको ५.०८ प्रतिशत र ग्रिन लाइफ हाइड्रोपवारको सेयरमूल्य ४.९५ प्रतिशतले घटेको छ ।
आज दिनभर बजारमा ४ अर्ब २९ करोड ३८ लाख ६४ हजारको कारोबार भएको छ ।
जसमध्ये नेसनल हाइड्रोपावरको करिब २७ कराेडको कारोबार हुँदा नेपाल दुरसञ्चार कम्पनीको २५ करोड, जीवन विकास लघुवित्तको १४ करोडको कारोबार भएको छ ।



