गैर आवासीय नेपाली संघ (एनआरएनए) को पूर्वनिर्धारित १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ।

संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म काठमाडौँमा १० औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो ।

तर प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटक सम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि संघको आइतबार बसेको बैठकले निर्वाचन तथा महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गर्ने निर्णय भएको संघका महासचिव डा. हेमराज शर्माले बताए।

‘यो बाहेक ६५ प्रतिशत प्रतिनिधि छनोटबारे परराष्ट्रको परिपत्रलाई हामीले स्वीकार गरेनौं।

त्यसबारे कानुनविद तथा परराष्ट्रसँग थप परामर्श गर्ने निर्णय गरेका छौँ,’ उनले भने।

उनका अनुसार संघका विशेष परिस्थितिमा ६ महिना विश्व सम्मेलन सार्न सकिन प्रावधानअनुसार ६ महिनाभित्र निर्वाचन गर्नेगरी सम्मेलन सर्ने निर्णय भएको हो ।

अब परराष्ट्र मन्त्रालयलगायतसँग समन्वय गरी नयाँ मिति तय गरिनेछ ।

महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिएपछि निर्वाचनका सबै प्रकृया रोकिएको क्षेत्रीले दावी गरे ।

उनका अनुसार आइतबार भर्चुअल माध्यमबाट  अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बैठक बसेको थियो ।

एनआरएनएमा अध्यक्षका प्रत्यासी कूल आचार्य समूहले प्रतिनिधि चयनमा विवाद रहेको दावी गर्दै परराष्ट्रमा उजुरी दिएको थियो ।

सो उजुरीपछि परराष्ट्रले दुई पटकसम्म एनआरएनएलाई पत्र काटेको थियो ।

पछिल्लो पत्रमा संघको विधान अनुरुप तोकिएको मितिमा महाधिवेशन नगर्ने अमेरिका, युके, पोर्चुगल, फ्रान्स, साइप्रस, डेनमार्क, ओमान लगायतका राष्ट्रिय समितिको वैधानिकतामाथि मन्त्रालयले प्रश्न उठाउँदै नयाँ निर्वाचन गर्न निर्देशन दिएको थियो ।

एनआरएनएमा आचार्य र बद्री केसीका साथै रविना थापाले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।