वैज्ञानिक तरिकाको भाडादर समायोजन नगरे पुन आन्दोलनमा जाने – व्यवसायी
वाग्मती प्रदेश सरकारले बुधबार २३ प्रतिशतले बढाएको सार्वजनिक यातायातको भाडादर लागु नगर्ने यातायात व्यवसायीले बताएका छन् ।
सरकारले बढाएको भाडादर अ’वैज्ञानिक र अव्यावहारिक भएको भन्दै लागु नगर्ने बताएका हुन् ।
बुधबार वाग्मती प्रदेश सरकारले किलोमिटरका आधारमा भाडा तिर्नुपर्ने गरी २३ प्रतिशतले भाडा बढाएको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले सरकारले वैज्ञानिक रूपमा भाडा समायोजन नगरेको बताए ।
‘‘महासंघ र यातायात व्यवस्था विभागबीच २०७८ वैशाख ९, ११, १२, १४ र १६ गतेका बैठकहरूबाट वैज्ञानिक भाडा निर्धारणका सूचकहरूलाई अध्ययन र मूल्यांकन गरी २८ प्रतिशत वैज्ञानिक भाडादर कायम गर्ने निर्णय भएको थियो ।
यसकै आधारमा असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट असार २९ गतेदेखि लागु हुने गरी समायोजन गरिएको थियो ।
तर, यो भाडादर लागु हुन सकेन । हामीले पटक–पटक आ’न्दोलन गर्यौ । तर, सरकारले समायोजित भाडादर लागु गर्न बेवास्ता गरिरह्यो,” महासचिव सिटौलाले भने ।
वैज्ञानिक भाडादर समायोजन गर्न वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीलाई पटक–पटक भेटेर माग गरेको तर बेवास्ता गरेको महासचिव सिटौलाको भनाइ छ ।
‘‘भदौ १६ गते भौतिक पूर्वाधार विकास मन्त्रालयको भाडा समायोजन कार्यदललाई थप पाँचबुँदे सुझाव दिएका थियौँ ।
उक्त भाडादर २८ प्रतिशतले समायोजन हुने बेला डिजेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ र पेट्रोलको प्रतिलिटर १२१ रुपैयाँ थियो ।
तर, पछि डिजेलको मूल्य बढेर प्रतिलिटर ११३ रुपैयाँ पुग्यो भने पेट्रोलको मूल्य १२९ रुपैयाँ पुग्यो ।
त्यस समयावधिदेखि नै इन्धनको मूल्यसमेत समायोजन गरी वैज्ञानिक भाडादर समायोजन गर्न माग गर्दै आएका थियौँ,” उनले भने, ‘‘वाग्मती प्रदेश सरकारले अ’व्यावहारिक रूपमा भाडा बढाएको छ । यो कुनै पनि हालतमा हामी लागु गर्दैनौँ ।
अर्कातिर, ट्याक्सीको भाडादर पनि समायोजन भएको छैन । भाडा समायोजन गर्दा देशभर एउटै भाडादर हुनुपर्छ ।
सरकारले तत्काल पुनर्विचार गर्नुपर्छ । हामीले भाडा समायोजन सम्बन्धनमा १३ वटा माग राखेका थियौँ ।
यी सबै माग सम्बोधन नभई अवैज्ञानिक रूपमा भाडा समायोजन भएको छ । सरकारले तत्काल पुनर्विचार नगरे पुनः आ’न्दोलन गर्न बाध्य हुनेछौँ ।”
महासंघका अनुसार सरकारले ०६५ सालमा इन्धनको भार ३५ प्रतिशत र अरू १२ वटा सूचकको भार ६५ प्रतिशतलाई आधार मानेर वैज्ञानिक भाडादर समायोजन गरेको थियो । सातवटै प्रदेशमा वैज्ञानिक भाडादर समायोजन गरिनुपर्ने महासंघको माग छ ।
यातायात व्यवसायीबीच मतभेद
सरकारले एउटै प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन नगर्दा सार्वजनिक यातायात व्यवसायी महासंघ नेपाल अन्तर्गतका ७२ यातायात व्यवसायीका करिब १८ हजार सवारीसाधनले आफूखुसी भाडा असुल्न थालेका थिए ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको तर भाडा समायोजन नगरेको भन्दै महासंघले आफैँ भाडादर निकालेर यातायात व्यवसायीलाई वितरण गर्न सुरु गरेको थियो ।
सार्वजनिक यातायात व्यवसायी महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष निरकुमार कार्कीले भने आ’लोचनात्मक रूपमा सरकारले बढाएको भाडादर स्वीकार गरिएको बताए ।
‘‘प्रदेश सरकार र स्थानीय सरकारले एउटै प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको थिएन ।
त्यसैबीच हामी आफैँले लामो दूरीको आधारमा २८ प्रतिशतले भाडा बढाएका थियौँ । पटक–पटकको आ’न्दोलनले सरकारले बुधबार भाडा बढाएको छ ।
यसलाई हामीले स्वीकारेर लागु गरेका छौँ । सरकारले यसलाई विस्तारै सुधारेर लैजानुपर्छ,” उनले भने, ‘‘देशभरका सबै सार्वजनिक सवारीसाधनमा एउटै किसिमको भाडादर हुनपर्छ भन्ने हो ।
यसका लागि हामी सरकारलाई माग गरिरहेका छौँ । सरकारले विस्तारै सुधार्दै जाला ।”



