नेपाली भाषा भारतीय संविधानले मान्यता दिएको अवसर पारेर भारतभरका नेपाली भाषीले भाषा दिवस विविध कार्यक्रम गरि मनाएका छन्।

लामो सङ्घर्षपछि सन् १९९२ अगष्ट २० मा नेपाली भाषाले भारतीय संविधानको आठौं अनुसूचीमा राखेर मान्यता दिएसँगै भारतबासी नेपाली भाषीले भाषा दिवस मनाएका छन्।

यसैबीच दार्जिलिङमा पनि विविध कार्यक्रम गरी नेपाली भाषा दिवस मनाएका छन्।

खर्साङस्थित भारतभरका नेपालीका सबैभन्दा जेठो संस्था १०८ वर्ष पुरानो गोर्खा जान पुस्तकालयले निजी प्रेक्षागृहमा भाषा दिवस मनायो।

कार्यक्रममा भारतीय नेपाली समाजमा भाषाको विकासमा विशेष सेवा पुर्‍याउने भाषा एवं सामाजिक क्षेत्रका सक्रिय कार्यकर्ता विजय कुमार राई र गोर्खाल्यान्ड टेरिटोरियल (जीटीए) का सूचना एवं सांस्कृतिक विभागका सहनिर्देशक भुपेन्द्रकान्त घिसिङलाई सम्मान गरिएको थियो।

दुवैले नेपाली भाषा साथै संस्कृतिको विकास र संरक्षणको क्षेत्रमा तीन दशक भन्दा बढी समयदेखि निरन्तर सेवा पुर्‍याउँदै आएका छन्।

कार्यक्रम पुस्तकालयका सभापति पूर्ण गुरूङ निरूपमको अध्यक्षता र वरिष्ठ साहित्यकार नरबहादुर दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

भाषा मान्यता दिवस विषयमा उपाध्यक्ष ऋषि राईले संक्षिप्त प्रकाश पारेका थिए। दार्जिलिङ सरकारी महाविद्यालय नेपाली विभागकी प्रमुख डा . सुजतारानी राईलाई हालैमा आफ्नो विद्यावारिधि प्राप्त गरेकोमा पुस्तकालयको पक्षबाट सम्मान गरेको थियो।

कार्यक्रममा प्राध्यापक गङ्गाप्रसाद भट्टराईद्वारा सम्पादित एंव शिवकुमार राई जन्म शतवार्षिकी समारोह समितिको प्रकाशनमा प्रकाशित ‘शिवकुमार राई: जन्म शताब्दी समारोहहरूमा’ पुस्तक लोकार्पण गरिएको थियो।

यसैबीच सांसद राजु विष्टले नेपाली भाषा दिवसको शुभकामना दिएका छन्।

नेपाली भाषालाई भारतीय संविधानले मान्यता दिएको अवसरमा शुक्रबार दार्जिलिङ लोकसभाका सांसद विष्टले भारतभरका नेपाली भाषीलाई शुभकामना एवं बधाई दिएका छन्।

‘कुनै पनि ज्ञान भाषामा बाँचेको हुन्छ। गोर्खा जातिको मातृभाषा नेपालीलाई अझ विस्तार गर्न साथै सम्बृद्ध बनाउन संकल्प गर्ने आव्हान गर्छु’, उनले भने।

आफ्नो शुभकामना सन्देशमा उनले अगाडि भनेका छन्, ‘सन् १९९२ मा इतिहास रचिएको थियो जब नेपाली भाषालाई आठौँ अनुसूचिमा मान्यता अन्तर्भुक्त गरिएको थियो।

आजको दिन भारतमा नेपाली भाषाको विकास र सम्वृद्धिमा योगदान पुर्‍याउने समस्त भाषा सङ्ग्रामीहरुलाई नमन गर्ने दिन हो।

आज नेपाली भाषाको विकासमा निरन्तर लागेका साहित्यकार, बुद्धिजीवी अनि संस्कृतिकर्मीप्रति आभार प्रकट गर्ने र धन्यवाद दिने दिन हो।’