नेपाल आयल निगमले अहिले हवाई इन्धनको मूल्य घटाउन नसकिने बताएको छ । हवाई इन्धनको मूल्य १५ वर्ष अगाडिको बराबर रहेको र निगमको नाफा बिमान सेवा सञ्‍चालकले माग गरेअनुसार रहेका कारण अहिले घटाउन सकिने स्थिति नभएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।उ नले भने, “कुनैदिन हवाई इन्धन पेट्रोलभन्दा महंगो थियो । आज डिजेलभन्दा सस्तो छ ।” पौडेलका अनुसार निगमले पर्याप्त गृहकार्य गरेर हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ लिटरको ६५ रुपैयाँ प्रतिलिटर कायम गरेका छौं, अन्तर्राष्ट्रियतर्फ भने प्रतिलिटर १ सय २ रुपैयाँ छ ।

यो मूल्य बिमान सेवा प्रदायकलाई न्याय गर्ने नै रहेको दाबी पौडेलले गरे ।आन्तरिक उडानमा प्रयोग हुने इन्धनको मूल्य डिजेलभन्दा निकै सस्तो हो । डिजेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पर्छ । अन्तर्राष्ट्रिय उडानका प्रयोग हुने हवाई इन्धन पेट्रोलभन्दा सस्तो हो । बजारमा पेट्रोल लिटरको १ सय ७ रुपैयाँ पर्छ ।अन्तर्राष्ट्रिय उडानमा खपत हुने हवाई इन्धनको मूल्यबारे भने सोच्‍न सकिने कार्यकारी निर्देशक पौडेलको भनाइ छ । निगमको अर्धमासिक मूल्य विवरण अनुसार हवाई इन्धनमा निगमलाई आन्तरिकमा प्रतिलिटर १२ रुपैयाँ ९९ पैसा र अन्तर्राष्ट्रियमा ४७ रुपैयाँ ९२ पैसा नाफा छ ।

पौडेलले आन्तरिकतर्फ व्यवसायीको माग १० रुपैयाँभन्दा बढी नाफा हुनुहुँदैन भन्ने रहेको र निगमले त्योभन्दा बढी नाफा नगरेको दाबी गरे । इन्डियन आयल निगमबाट हवाई इन्धन प्रतिलिटर ३३ रुपैयाँ ५३ पैसामा खरिद हुन्छ । सरकारले सो इन्धनमा आन्तरितर्फ प्रतिलिटर १४ रुपैयाँ ७६ पैसा र अन्तर्राष्ट्रियतर्फ १७ रुपैयाँ ३३ पैसा कर लगाएको छ । नाफाबाहेक थप खर्च मौज्दात ब्याज, प्रशासनिक खर्च, प्राविधिक नोक्सानी, ह्रासखर्चलगायत हुन्छ ।