को’भिड-१९ नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकालगायत अन्य जिल्लामा जारी नि’षेधाज्ञा र सरकारले विभिन्‍न क्षेत्रमा लगाएको प्रतिबन्ध हटेसँगै बैंकिङ गतिविधि पनि बढेको छ । बैंकरहरु पनि आर्थिक गविविधि सुचारु भएइको बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल भदौ २५ बाट उपत्यकामा हटेको नि’षेधाज्ञा र असोज १ बाट सबै क्षेत्र खुला भएसँगै बैंकमा चहलपहल बढेको उनले बताए ।“पछिल्लो एक सातमा बैंकहरुमा चहलपह बढेको छ, कर्जाको माग पनि आउन लागेको छ,” बैंकर्स संघका अध्यक्ष दाहालले भने, “अहिले हामी आशावादी भएका छौं ।

चालुपुँजी कजासँगै अन्य कर्जाको पनि केही माग आउन सुरु भएको छ भने प्रतितपत्र, ग्यारेन्टीको कारोबार पनि बढेको छ ।” गत साताभन्दा पनि यो साता थप चहलपहल बढेको बैंकर्स दाहाल बताउँछन् । चाडपर्व नजिकिँदै गर्दा व्यापारिक तथा आयातको लागि प्रतितपत्रको कारोबार अघिल्लो साताभन्दा तुलनात्मक रुपमा बढेको उनले बताए । तर विगतका वर्षको जस्तो चहलपहल भने अहिले नरहेको उनको भनाइ छ । त्यसको लागि कोभिडको भ्याक्सिन नै आउनुपर्ने अवस्था देखिएको दाहाल बताउँछन् । माछापुच्छ्रे बैंकका प्रमुख कायकारी अधिकृत सन्तोष कोइराला पनि वित्तीय क्षेत्रमा चहलपहल बढेको बताउँछन् ।

उनले भने, “व्यवसायीले वयवसाय सुचारु गर्न चालुपुँजी कर्जासँगै अन्य कर्जाको पनि माग गर्न सुरु गर्नुभएको छ, त्यस्तै एलसीको कारोबार पनि बढेको, आर्थिक गतविधि पूर्णरुपमा सुचारु नै भयो भन्‍ने अवस्था नभएपनि अब अर्थतन्त्र चलायमान हुने संकेत भने देखिएको छ ।” अघिल्लो महिनाभन्दा असोज लागेपछि बैंकिङ गतिविधि धेरै नै बढेको कोइरालाले बताए । गतिविधि बढेसँगै एक सातामा नै  बैंकहरुले निक्षेप २१ अर्ब र कर्जा लगानी ९ अर्बले बढाएका छन् ।

नेपाल बैंकर्स  संघका अनुसार भदौ २५ गते शुक्रबार असोज २ गते शुक्रबारसम्म वाणिज्य बैंकहरुले एक सातामा निक्षेप २१ अर्ब र कर्जा ९ अर्बले बढाउन सफल भएको जनाएका छन् । भदौ २५ गते ३४ खर्ब ९५ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप असोज २ गते आउँदा बढेर ३५ खर्ब  १६ अर्ब पुगेको छ । यस्तै सोही सातामा बैंकहरुको कर्जा लगानी ९ अर्बले बढेको छ । भदौ २५ गते २९ खर्ब ४ अर्ब रहेकोमा असोज २ गते आउँदा बढेर २९ खर्ब १३ अर्ब पुगेको छ ।

चालु आर्थिक वर्षमा वाणिज्य बैंकको कर्जा जम्मा १० अर्बले बढ्यो  

चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने जम्मा १० अर्ब मात्रै बढेको छ । कोभिड १९ का कारण नयाँ कर्जाको माग नभएको तर असार मसान्तमा कर्जा असुल हुँदा साउनमा बैंकहरुको लगानीमा रहेको कर्जा घटेको थियो । असार मसान्तमा २९ खर्ब ३ अर्ब रहेको कर्जा लगानी साउन १६ गते शुक्रबार घटेर २८ खर्ब  ६६ अर्बमा झरेको थियो । त्यसपछि भने कर्जा लगानीमा क्रमिक सुधार हुँदै गएर असोज २ गतेसम्म २९ खर्ब  १३ अर्ब पुगेको छ । यस्तै चालु आर्थिक वर्षमा बैंकहरुको निक्षेप संकलन २९ अर्बले बढेको छ ।

असार मसान्तमा ३४ खर्ब ८७ अर्ब रहेको वाणिज्य बैंकहरुको निक्षेप संकलन साउन ९ गत शुक्रबार घटेर ३४ खर्ब ६२ अर्बमा झरेको थियो  त्यसपछि लगातानर बढ्दै गएको बैंकहरको निक्षेप आसोज २ गते शुक्रबार बढेर ३५ खर्ब १६ अर्ब पुगेको छ । विगतका वर्षहरुमा आर्थिक वर्षको पहिलो त्रैमासमा नै ३५-४० प्रतिशत व्यवसाय गर्ने बैंकहरुले चालु आर्थिक वर्षको दुई महिना वितिसक्दा पनि जम्मा १० अर्बले मात्रै कर्जा विस्तार गरेका छन् । पहिलो त्रैमासमा निक्षेप संकलन तुलनात्मक रुपमा कम नै हुने भए पनि चाडपर्व लक्षित व्यवसायको लागि कर्जाको माग भने उच्च हुने गरेको थियो । बैंकिङ प्रणलीमा पहिलो त्रैमास सकिँदा लगानीयोग्य तरलताको अ’भाव देखिने गरेकोमा यो वर्ष भने करिब २ अर्ब अधिक तरलता रहेको छ ।