बम दिदीबहिनी भन्छन्- निर्मला हत्याबारे सरकारी प्रतिवेदन झुटो
धनगढी । कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी–हत्यारालाई कारवाहीको लागि सडक–सदन र मिडियाका पानापाना रंगिए तर पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । दशैंअघि नै आफ्नी छोरीका हत्यारालाई कारवाही हुने निर्मलाका आमाबुबाको अपेक्षा पूरा हुन सकेन ।
हत्यामा संलग्न हुन सक्ने भन्दै सबैले चोरऔला उठाएका बम दिदीबहिनी सार्वजनिक रुपमा देखिएकी छन् । लामो समयसम्म कतै नदेखिएकी निर्मलाकी साथी रोशनीसँगै उनकी दिदी बबिताले आफूलाई कुनै जानकारी नभएको बताएकी छन् । दुबै बहिनीहरुले आफूमाथि अन्यय भएको भन्दै न्याय मागेकी छन् ।
कसैले सोध्दै नसोधी आफूहरुमाथि विभिन्न आरोप लगाएका बताएकी छन् । दुबै बहिनीले आफूहरुलाई समाजमा मुख देखाउन नसक्ने गरी मिडियाले प्रचार गरेको आरोप लगाएकी छन् ।
घटनापछि आफूहरु मामा घर गएको बबिताले बताइन् । आफूहरुलाई घरमा बस्ने नसक्ने वातावरण भएपछि आफूहरु मामा घर भएकी बताइन् । रोशनीले आफूहरुमाथि पनि प्रहरीले छानविन गरेको भन्दै दोषी भए कारवाही गर्नु पर्ने बताइन् । उनले आफूलाई दोषी पुष्टि नगरी विभिन्न आरोप लगाएर अन्याय भएको बताइन् ।
बबिताले सरकारी प्रतिवेदन झुट भएको बताएकी छन् । आफूहरुसँग नसोधिएका कुरा प्रतिवेदनमा उल्लेख गरिएका समेत उनले बताएकी छन् । उनले अाफूलाई ट्यूशन पढ्न नगएको भन्ने अारोपको पनि खण्डन गरेकी छन् । बबिताले ट्युसन सेन्टरमा गएर बुझ्न चेतावनी समेत दिएकी छन् । त्यसैगरी डान्स सिक्न कहिलै नगएको समेत बताएकी छन् । अाफूहरुलाई प्रहरी सुरक्षा दिएको भन्ने कुरा पनि झुटो भएको बताएकी छन् ।