मुन्धुमस्टार डटकम — राष्ट्रपति निर्वाचनमा सम्भावित समीकरणबारे छलफल गर्नका लागि माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी बैठक सिंहदरबारमा सुरु भएको हो ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

तीन दलको बैठक सकिएपछि प्रधानमन्त्री दाहाल कांग्रेसका नेताहरूसँग छलफल गर्ने तय भएको छ । सिंहदरबारमा केही समयअघि सुरु भएको बैठकमा तीनवटै दलका दोस्रो तहका नेताहरू पनि सहभागी रहेको बताइएको छ ।

यसअघि प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपाल र जसपा अध्यक्ष यादवसँग छुट्टाछुट्टै वार्ता गरेका थिए । दाहालले सिंहदरबारमा नै उनीहरूसँग छलफल गरेका थिए ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गतेका लागि तय भएको छ । राष्ट्रपतिको उम्मेदवारी मनोनयनको दर्ता मिति फागुन १३ हुने निर्वाचन आयोगको कार्यतालिका रहेको छ । उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते हुनेछ ।