उद्दार सहयोगको लागि हाडजोर्नी विशेषज्ञसहितका स्वास्थ्यकर्मीको टीम टर्कि पठाउने नेपाल सकारको तयारि
मुन्धुमस्टार डटकम- टर्कीमा गएको विनासकारी भूकम्पपीडितका लागि राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री दाहालले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सहयोग गर्नुपर्ने बताएका छन । प्रधानमन्त्री दाहालले भने, टर्की हाम्रो असल मित्रराष्ट्र हो । हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो । टर्की सरकारको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापतिलगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए । बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको हो ।
नेपाल सरकारले विनाशकारी भूकम्पबाट प्रभावित टर्कीलाई सहायता गर्न भूकम्प उद्धारका लागि आवश्यक हाडजोर्नी विशेषज्ञसहितका स्वास्थ्यकर्मीलाई पठाउन तयारी थालेको हो ।
परराष्ट्रमन्त्री पौड्याल र टर्कीका विदेश मन्त्री चाबोश्वग्लु बीच टेलिफोन कुराकानी परराष्ट्रमन्त्री विमला राई पौड्यालले बुधबार टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरी शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गरेकी छन ।



