कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन हुन्थेन- शेखर कोइराला
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको शेखर कोइरालाले बताएका छन् । पार्टीभित्र अल्पमतले राखेको सुझाव नेतृत्वले नसुन्दा समस्या भएको कोइरालाले बताएका हुन् ।
काठमाडौँमा आइतबार आफ्नो पक्षको भेलामा शेखर कोइरालाले प्रधानमन्त्रीले मागेको विश्वासको मत विभाजनका क्रममा तटस्थ बस्नुपर्ने सुझाव दिएको पनि बताएका छन् ।
‘हामीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर गल्ती गर्यौं,’ उनले भने, ‘तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समितिमा राखेको थिए, त्यसको सुनुवाइ भएन ।’
बहुमतको निर्णय मान्दा बाध्यतामा परेको पनि कोइरालाले बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आडमा बाध्यतामा पारेको बताएका हुन् । ‘बहुमतको निर्यण मान्नुपर्ने बाध्यता भयो । विश्वासको मत दिन हुन्थेन,’ उनले भने ।
सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत चार जना नेताले उक्त निर्णयमा असहमति जनाएका थिए ।
यसअघि कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएका माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । पुस १० मा दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सत्ता साझेदारी गरेका थिए । सोही दिन उनी प्रधानमन्त्री नियुक्त भएका थिए ।
पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत मागेका दाहालले कांग्रेसको पनि विश्वास पाएका थिए । दाहालको विपक्षमा जम्मा २ मत परेको थियो । उनलाई २६८ सांसदले विश्वासको मत दिएका थिए । कांग्रेसले विश्वासको मत दिएपछि उसको स्थान सत्तापक्षमा हो कि प्रतिपक्षमा भन्ने प्रश्न उठेको छ ।



