प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट लिगमा प्रदेश–१ ले लगातार दोस्रो जित निकालेको छ । प्रदेश–१ ले सोमबार लुम्बिनी प्रदेशविरुद्ध नौ रनको जित निकाल्यो ।

सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा भएको खेलमा प्रदेश–१ ले प्रस्तुत गरेको ६० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित नौ ओभरमा सात विकेट गुमाएर ५० रनमात्र बनाउन सक्यो ।

लुम्बिनीकी ओपनर लक्ष्मी चौधरीले ३१ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । संगीता प्रदेश–१ की संगीता राईले तीन विकेट लिइन् । प्रदेश–१ बाट किफायती बनेकी संगीताले दुई ओभरमा चार रनमात्र खर्चिइन् । यस्तै, कप्तान रुविना क्षेत्री, ज्योति दनुवार र सबनम राईले समान एक विकेट लिए ।

खेल बिहान नौ बजेदेखि सुरु हुने तालिका रहेपनि बाक्लो हुस्सुका कारण निर्धारित समयमा सुरु हुन नसक्दा खेल नौ ओभरमा झारिएको थियो ।

यसअघि खेलमा टस जितेर ब्याटिङमा आएको प्रदेश–१ ले निर्धारित ९ ओभरमा चार विकेट गुमाएर ५९ रनको योगफल खडा गरेको थियो ।

प्रदेश–१ की ओपनरद्वय काजल श्रेष्ठले २१ र कप्तान रुविनाले १७ रन जोडेका थिए । यी दुईले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । यसबाहेक, अप्सरी बेगमले टिमको खातामा १२ रन थपिन् । लुम्बिनीका कृतिका मरासिनी, सरस्वती पुन र बिवान्सा बिसीले समान एक विकेट लिए ।