डब्लुएचओद्वारा भारतीय कम्पनीका दुई कफ सिरप प्रयोग नगर्न सुझाप
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतीय कम्पनी मेरियन बायोटेकका दुई औषधी गुणस्तरहीन रहेको भन्दै प्रयोग नगर्न सुझाएको छ।
खोकी निदानका लागि प्रयोग गरिने मेरियन बायोटेकका दुई झोलिलो औषधी गुणस्तरहीन रहेको ठहर विश्व स्वास्थ्य संगठनले गरेको हो।
उज्बेकस्तानमा त्यही कम्पनीको औषधी प्रयोग गर्दा बालबालिकाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले गुणस्तर जाँच गरेको थियो। बुधबार विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेरियन बायोटेकका ती उत्पादन गुणस्तरहीन छन् कुनै पनि मापदण्डको पालना भएको छैन।’
विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्न सुझाएको औषधीमा एम्ब्रोनोल र डोक-वान म्याक्स सिरप हुन्। प्रयोगशालामा जाँच गर्दा ती दुई औषधीमा अत्यधिक मात्रामा डाइइथालिन ग्लाइकोल र इथालिन ग्लाइकोल पाइएको छ।
यी रसायनको मात्रा बढी भएमा केन्द्रीय स्नायु प्रणालीमा असर पुर्याउँछ।



