संघीय सरकारले तत्कालकै अवस्थामा डोजर चलाएर थापाथलीका अनाधिकृत संरचना र बस्ती हटाउन सहयोग नगर्ने भएको छ ।

बस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौँ महानगरपालिकालाई गृह मन्त्रालयले घुमाउरो रूपमा प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएको हो ।

१३ पुसमा महानगरपालिकाले सहयोग माग्दै लेखेको पत्रको जवाफ दिँदै गृह मन्त्रालयले छलफल, समन्वय, पूर्व तयारी नभएसम्म सहयोग नहुने बताएको छ ।

गृहले लेखेको जवाफी पत्रमा सिधा शब्दमा अस्वीकार नगरिए पनि महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा सहयोग हुने गृहको पत्रमा उल्लेख छ ।

‘सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्डअनुसारको क्षेत्रको संरक्षण गर्ने कार्यमा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहने छ। उल्लेखित विषयमा कानुन बमोजिमको प्रक्रिया पुरा गरी, सरोकारवाला सबै पक्षसँग आवश्यक छलफल तथा समन्वय गरी पर्याप्त पूर्व तयारीसहित समग्र समस्या समाधान गर्ने महानगरको अग्रसरतालाई मन्त्रालयको पूर्ण सहयोग रहनेछ,’ पत्रमा भनिएको छ ।