गत डिसेम्बरमा चीनमा ८५ वर्षीय चेनलाई कोभिड संक्रमित हुँदा एउटा एम्बुलेन्स पाउन तथा डाक्टर भेट्न असम्भव थियो । परिवारले उनलाई राजधानी चाओयाङ अस्पतालमा लगे । अस्पतालले उनलाई अर्को कुनै अस्पतालमा लग्न वा करिडोरमै आईभी ड्रिपसहित राख्न सल्लाह दियो ।

बिरामीकै नाति चेनले बीबीसीलाई भनेका छन्, “अस्पतालमा शय्या, श्वास प्रश्वास यन्त्र र अन्य चिकित्सकीय उपकरण थिएनन् । विशेष सम्पर्कमार्फत मेरो बुबाले कुनै अर्को अस्पतालमा एउटा बेड मिलाउनुभयो । त्यतिबेलासम्म मेरो हजुरबुवाको फोक्सोमा नराम्ररी संक्रमण भइसकेको थियो ।”

अहिले वृद्ध चेनलाई ठिक भइसकेको छ । तर, उनका छोराहरू भविष्यमा हुने अर्को संक्रमणले उनको ज्यान जान सक्ने चिन्ता लिएर बसेका छन् ।

चेन भन्छन्, “तीन वर्ष लामो कोभिड रोकथाम उपाय पूर्णतया बेकार र असफल भयो । किनभने सरकारले बिना कुनै तयारी निकै छिटो नियन्त्रणहरू हटायो । फलत: थुप्रै भाइरसको सिकार भए । महामारी फेरि फर्कन्छ । ज्येष्ठ नागरिकहरू आफ्ना भाग्यमा मात्रै भर पर्न सक्नेछन् ।”

आइतबार चीनले आफ्ना सीमानाहरू पुन: खोले लगत्तै विवादास्पद ‘शून्य कोभिड’ नीतिको कार्यान्वयन रोकिनेछ । अब मुलुकमा सामूहिक स्वास्थ्य परीक्षण, कडा क्वारेन्टाइन र अचानक सार्वजनिक स्थलहरूमा लाग्ने तालाबन्दी जस्ता कारबाही रोकिएपछि के पो हुने हुन् भनेर चेन जस्ता परिवारहरू सचेत छन् ।

सरकारको ‘शून्य कोभिड’ नीतिविरुद्ध जनता आफैँले सडकमै आएर व्यापक विरोध प्रदर्शन गरेका थिए ।

तर, आफ्ना परिचय खुलाउन नचाहने केही चिनियाँ युवाले भने यसबारे फरक सोच राख्ने गरेका छन् । केहीले आफूहरूले स्वेच्छाले संक्रमण गराइरहेको बीबीसीलाई बताएका छन् ।

अहिलेसम्म कोभिडविरुद्धका कुनै चिनियाँ खोप नलिएका साङ्घाई निवासी २७ वर्षिय युवक भन्छन्, “मैले स्वेच्छाले कोरोना संक्रमित गराएँ, आफूलाई । किनभने आफ्नो बिदा मनाउने योजना परिवर्तन गर्न चाहन्नथेँ । अहिले ठिक भइसकेको छु । बिदा मनाउने बेला अब मलाई पुन: कोभिडले दु:ख दिने छैन भन्नेमा ढुक्क छु ।”

त्यसैगरी साङ्घाईमै बस्ने अर्की २६ वर्षिया युवतीले पनि अनौठो अनुभव सुनाउँछिन्, “मलाई पनि कोभिड सरोस् भनेर नै मैले आफ्नो कोभिड पोजिटिभ एकजना साथीलाई भेट्न गएँ । तर, मलाई निको हुन निकै गाह्रो भयो । मैले रुघा लागेको जस्तै मात्र होला भन्ने साचेकी थिएँ । तर निकै पीडादायी हुँदो रहेछ ।”

तर, अहिले महामारीका नियमहरू फुकुवा गरिएपछि वृद्धवृद्धाले कस्तो भोग्नुपर्ने हो भन्ने चिन्ता बढ्न थालेको छ ।

उत्तरी झेझियान प्रान्तको जियासिनमा सरकारी कम्पनीमा काम गर्ने एक २९ वर्षिया युवती भन्छिन्, “सीमानाहरू खुल्दै छन् भन्ने खबर सुन्ना साथ मलाई निकै खुसी लागेको थियो । अब मुलुकका अन्य भागहरूमा गएरपनि कन्सर्ट हेर्न पाइने भएर खुसी लागेको हो । कतै घुम्न निस्कन म्यानेजरसँग अनुमति मागिराख्नु पर्दा दिक्क लाग्छ । सामान्य दिनचर्या फर्कोस् भन्ने मेरो चाहना हो । तर बुढाबुढीका समस्यालाई लिएर मलाई पनि चिन्ता लाग्छ । मेरो हजुरबुबाले कोभिडले सिकिस्त भइसक्दा पनि अस्पताल जान मान्नुभएको थिएन । अस्पताल र चिहानमा भिड बढेको खवरले अर्को चिन्ता थपेको थियो । म त संक्रमित भइनँ । तर मेरो पति संक्रमित हुँदा भने म घरमा सुत्दा पनि मास्क लगाउँथेँ । म भाइरससँग डराएको त थिइनँ । तर एकैचोटि पतिपत्नी बिरामी नहोस् भन्ने मात्र चाहेकी थिएँ ।”

अहिले कमसेकम चीनका ठूलाठूला सहरका रेस्टुरेन्ट, मल र पार्कहरूमा पुन: भिड देखिन थालेको र पर्यटक अनुमति र भिसाका लागि आउने सेवाग्राहीहरूका संख्या पनि बढ्न थालेको चीनको सरकारी अखवार ग्लोबल टाइम्सले जनाएको छ ।-बीबीसी