माओवादीद्वारा वाग्मती, कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी
नेकपा (माओवादी केन्द्र)ले कम्तीमा दुई प्रदेशमा आफ्नो पार्टीको मुख्यमन्त्री हुनुपर्ने बटमलाइन बनाएको छ ।
सत्ता साझेदारसँगको छलफलमा पनि माओवादीले दुईवटा प्रदेशमा सरकारको नेतृत्व आफुले पाउनुपर्ने अडान राख्दै आएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूनिकट नेताहरुलाई वाग्मती, कर्णाली र सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी रहने बताउँदै आएका छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा प्रचण्डलाई भेटेका एक नेताले भने, “प्रधानमन्त्री तथा हाम्रो अध्यक्षले वाग्मती, कर्णाली र सुदूरपश्चिम मध्ये दुईवटा प्रदेशमा हाम्रै नेतृत्वमा सरकार गठन गर्ने प्रयास छ भन्नुभएको छ । यसबारे एमालेसँग छलफल अगाडी बढेको छ ।”
पश्चिमका माओवादी नेताहरुले भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनुपर्ने माग गर्दै आएका छन् ।
माओवादी नेताहरुका अनुसार कर्णालीको नेतृत्व माओवादीले पाउने लगभग सहमति भएपनि अन्य प्रदेशको बारेमा टुङ्गो लागेको छैन ।
माओवादीले सातवटै प्रदेशमा संसदीय दलको नेता चयन गरिसकेको छ ।



