त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गर्दै संकटा क्लब पोखरामा जारी २२ औँ आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा ‘बाई’ पाएर सिधैँ क्वार्टरफाइनल खेलेको संकटाले अब फाइनल प्रवेशका लागि साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ ।

पोखरा रंगशालामा सम्पन्न खेलमा संकटालाई जित दिलाउन मेसुके ओलोमेउ, सुरजजिउ ठकुरी र स्टेफन विनोङले गोल गरे । खेलमा अग्रता भने आर्मीले लिएको थियो । खेलको १७ औँ मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

तर, ३६ औँ मिनेटमा ओलोमेउले गोल गर्दै संकटालाई खेलमा फर्काएका थिए । ७४ औँ मिनेटमा सुरजले संकटालाई २–१ को अग्रता दिलाए । यस्तै, खेलको इन्जुरी टाइममा विनोङले गोल गरेपछि संकटाले ३–१ को जित निश्चित गर्यो ।

संकटाले अब फाइनल प्रवेशका लागि पुस २० गते एपीएफसँग खेल्नेछ । यसअघि, एपीएफले धरान फुटबल क्लबलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, प्रतियोगिताको उच्च गोलकर्ताले २५ हजार, प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुस २३ गते हुनेछ ।