स्वास्थ्यका लागि कुन ‘ड्राई फ्रुट्स’ कति फाइदाजनक ?
स्वास्थ्यका लागि जति अन्न र पानीको आवश्यकता छ, उत्तिकै महत्व अन्य पुरक आहारको पनि छ । विशेषगरी ताजा फलफूल र ड्राइ फ्रुट्सले हम्रो शरीरलाई विभिन्न रोगबाट बचाउँछन् भने वृद्धि विकासमा पनि सहयोग गर्छन् ।
यहाँ ती पाँच ड्राइ फ्रुट्सको चर्चा गरिँदै छ, जुन विश्वभर बढी प्रयोग मात्रै हुँदैनन्, स्वास्थ्यका लागि अत्यावश्यक पनि छन् ।
काजु
काजुमा अन्य ड्राई फ्रुट्सभन्दा कम चिल्लो हुन्छ । मुटुको लागि फाइदाजनक मोनोस्याचुरेटेड फ्याट हुन्छ । मोनोस्याचुरेटेड फ्याटले रगतमा कोल्स्ट्रोलको मात्रा घटाउँछ र मुटुसम्बन्धी रोगहरुबट बचाउन मद्दत पुर्याउँछ ।
काजुमा हुने मिनरल्स, जिंक, म्याग्नेसियम, आइरनजस्ता तत्वले स्मरण शक्ति बढाउन पनि मद्दत गर्छ । दिउँसोका खाजासँगै ४ देखि ६ वटा काजु खानु स्वास्थ्यवद्र्धक हुने पोषणविद्हरु बताउँछन् ।
पेस्ता
दैनिक डाइटको रुपमा खानुपर्ने अर्को ड्राइ फ्रुट हो पेस्ता । यसबाट पाइने क्यालोरी (४ क्यालोरी प्रतिगोटा), भिटामिन ई, बी, मिनरल्स, फोस्फरसजस्ता तत्त्वले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
पेस्ताले रगतलाई जम्न नदिने हुनाले मुटुसम्बन्धी रोगबाट समेत बचाउन मद्दत गर्छ । पेस्तालाई स्न्याक्सको रुपमा अन्य खानेकुरासँग ५० देखि ८५ ग्रामसम्म दैनिक खान सकिन्छ ।
बदाम (आल्मोन्ड)
शरीरको तौल बढाउन बढी खाइने बदामका अनेक फाइदा छन् । यसमा पाइने फाइबर, भिटामिन ई तथा मोनोस्याचुरेटेड फ्याटले मुटुसम्बन्धी रोगबाट बचाउँदैन मात्रै, जवान पनि देखाउन मद्दत गर्छ ।
बदामलाई स्न्याक्सको रुपमा दैनिक आठदेखि १० वटासम्म खान सकिन्छ । यसलाई काटेर दहीसँग मिसाएर खाँदा छालालाई चम्किलो बनाउन पनि सहयोग पुग्ने पोषणविद्हरु बताउँछन् ।
ओखर
बहुउपायेगी ओखरले शरीरलाई त फाइदा गर्छ नै, मस्तिष्कको वृद्धि विकासमा पनि महत्वपूर्ण भूमिका खेल्छ । दैनिक दुईवटा ओखर खानाले शरीरका सेलहरुलाई सन्तुलनमा राख्छ ।
ओखरको सेवनले क्यान्सरको जोखिमबाट पनि जोगाउने विभिन्न अध्ययनले देखाएका छन् । विशेषगरी बालबालिकाको मस्तिष्क विकास र रोगप्रतिरोधी क्षमता वृद्धिका लागि ओखर महत्वपूर्ण मानिन्छ ।
बदाम (पिनट्स)
जाडोयाममा सहजै उपलब्ध हुने बदाममा हाई क्यालोरी पाइन्छ । साथै, यसमा पाइने प्रोटिन, फाइबर, भिटामिन बीजस्ता तत्त्वले रोग प्रतिरोध प्रणालीलाई बलियो बनाउँछ भने मुटुसम्बन्धी रोगहरुबाट पनि बचाउँछ ।
विशेषगरी गर्भमा रहेको शिशुको वृद्धि विकासका लागि बदामको महत्वपूर्ण भूमिका हुने अध्ययनहरुले देखाएका छन् । दैनिक २८ ग्राम बदाम खानाले स्वास्थ्यलाई फाइदा पुर्याउँछ ।



