मंगोलियन भाषामा विनोद चौधरीको ‘आत्मकथा’
चौधरी ग्रुपका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ इट बिग’ मंगोलियन भाषामा प्रकाशित भएको छ । यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्वियन, रुसी भाषामा प्रकाशित भईसकेको छ ।
नेपालमा बेस्ट सेलर रहेको चौधरीको आत्मकथा अंग्रेजी भाषाका पाठकले पनि निकै मन पराएका छन् । विश्वव्यापी पाठकका लागि अमेजनमा समेत यो पुस्तक उपलब्ध रहेको छ । नेपाली पाठकका लागि देशभरका अधिकांश पुस्तक पसलमा यो पुस्तक उपलब्ध रहेको छ भने किताव यात्रामार्फत अनलाइन अर्डर गर्न सकिने व्यवस्था रहेको चौधरी ग्रुपले जनाएको छ ।
राजनीतिक र आर्थिक रूपमा पछाडि परेको मुलुकमा जन्मिएर चौधरी विश्वव्यापी व्यवसाय विस्तार गर्दै फोर्ब्ससम्मको यात्रा तय गरेका छन् । मंगोलियन भाषाका पाठकहरूका लागि आफ्नो आत्मकथा सार्वजनिक गर्न पाएकोमा लेखक चौधरीले खुसी व्यक्त गरे ।
मंगोलियन भाषाको पुस्तक सार्वजनिक गर्दै चौधरीले कथा वा विषयवस्तु जेसुकै भएपनि आम पाठकसम्म नपुगेसम्म त्यसको अर्थ नहुने भन्दै विद्यार्थी, नीतिनिर्माता, प्राध्यापक, सार्वजनिक पुस्तकालय र विश्वविद्यालयसम्म आम रूपमा पुस्तक सहज उपलब्ध गराउन राम्रो वितरण सञ्जाल तयार गरेकोमा मंगोलियन प्रकाशकलाई धन्यवाद दिए ।
चौधरीले निकट भविष्यमा मंगोलिन पाठकहरूसँग प्रत्यक्ष उपस्थित भई अन्तर्क्रिया गर्ने आफ्नो चाहना पनि व्यक्त गरेका छन् । चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रूपमा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छन् ।



