उत्तर कोरियाले हाइपरसोनिक मिसाइल सफलतापूर्वक परीक्षण गर्यो
उत्तर कोरियाले बुधबार सफलतापूर्वक हाइपरसोनिक मिसाइल (क्षेप्यास्त्र) परीक्षण गरेको उत्तर कोरियाली सरकारी समाचार संस्थाले जनाएको छ ।
यसअघि, दक्षिण कोरियाली र जापानी अधिकारीहरूले बुधबार प्रक्षेपण गरेको अस्त्र ब्यालिस्टिक मिसाइल हुन सक्ने अनुमान गरेका थिए । यो उत्तर कोरियाको यस वर्षको प्रमुख हतियार परीक्षण हो ।
उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले सो मिसाइलले ७०० किलोमिटर टाढाको लक्ष्यलाई ‘ठिकसँग प्रहार’ गर्ने जनाएको छ ।
यो हाइपरसोनिक मिसाइलको दोस्रो परीक्षण हो । यसलाई पत्ता लगाउन ब्यालिस्टिक मिलाइललाई भन्दा बढी समय लाग्छ ।
उत्तर कोरियाली नेता किम जोङ–उनले प्योङयाङको प्रतिरक्षालाई बलियो बनाउने वाचा गरेअनुसार यो परीक्षण गरिएको हो ।
नयाँ वर्षको सम्बोधनमा किमले कोरियाली प्रायद्वीपमा अस्थिर सैन्य वातावरण बढिरहेकोले प्योङयाङले रक्षा क्षमता बलियो बनाउने कार्यलाई निरन्तरता दिने बताएका थिए ।
दक्षिण कोरिया र अमेरिकासँगको वार्ता स्थगित भएपछि उत्तर कोरियाले गत वर्ष विभिन्न प्रकारका मिसाइलहरू परीक्षण गरेको थियो ।
यो हतियार विकास गर्ने प्रयासमा प्योङयाङ अमेरिका र चीनलगायत थोरै संख्यामा रहेका देशहरूसँग जोडिएको छ ।
पछिल्लो प्रक्षेपण सिओलमा रक्षा अधिकारीहरूले पुष्टि गर्नुअघि पहिलोपटक जापानी तटरक्षकले बुधबार सबेरै पत्ता लगाएको थियो ।
हाइपरसोनिक हतियारहरू सामान्यतया ब्यालिस्टिक मिसाइलभन्दा कम उचाइबाट जान्छ र ध्वनिको गतिभन्दा पाँच गुणा छिटो आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ । यसको गति ६ हजार २०० किलोमिटर प्रतिघण्टा हुन्छ ।
प्योङयाङले कोरोनाभाइरसका कारण नाकाबन्दी गरेको छ । यसले गर्दा उसको अर्थतन्त्रमा गम्भीर असर परिरहेको छ ।
र, उसले खाद्यान्न अभावसँग संघर्ष गरिरहेका बेला पछिल्लो परीक्षण गरेको हो ।एजेन्सी



